१.परिचय
योगी र सन्न्यासी दुई भिन्न शब्दहरु समानार्थक शब्द जस्ता भए पनि यिनको अर्थ भने समान छैन ।
योगी भन्नाले योगको बाटोको आधारमा केही हदसम्म भक्ति योग, ध्यान योग, ज्ञान योग र कर्म योग अपनाउने व्यक्तिलाई जनाउदछ ।
सन्न्यास भन्नाले सम्पूर्ण त्याग, परिपूर्ण समर्पण, हिन्दु धर्मका पवित्र चार आश्रममा चौथो आश्रम, योग धर्म, वैराज्ञलाई जनाउदछ । सन्न्यासबाट नै सन्न्यासी भएको हो । सन्नयासीमा चतुर्थाश्रमी व्यक्ति, योगी, अबधूत सन्नयास धर्मको त्यागीलाई जनाउदछ । यसमा वेद सन्न्यासी, कर्म सन्न्यासी र ज्ञान सन्न्यासी गरी तीन प्रकारका भेद रहेको पाइन्छ । सन्यासी थर नभइ जाति सूचक शब्द हो । योगीहरु गोरखनाथी सम्प्रदाय र सन्न्यासीहरु दशनामी सम्प्रदायका मानिन्छन ।
कुनै एउटा योगी सन्न्यासी हुन सक्दछ भने सबै योगी सन्न्यासी होइनन । योगी महिलालाई योगिनी र सन्न्यासी महिलालाई सन्न्यासिनी भनिन्छ । योगी र सन्न्यासीको एउटै मुख्य लक्ष भनेको मोक्ष प्राप्त गर्नु नै हो । यिनीहरुका संस्कारमा समानता रहेको छ । गृहस्थमा रहेका यी जातीहरु बीच विहेवारी चल्दछ । नेपालको पहाड,उपत्यका र तराईमा यी जातीका समुदायहरु रहेको पाइन्छ । यिनको बारेमा त्यतिमात्रामा खोज अनुसन्धान भएको पाइदैन । कति फिरन्ते भएर हिड्छन भने कति गृहस्थ जीवन विताइ रहेका छन । यिनीहरुको अधिकारीक तथ्याँक फेला परेको छैन । नेपाल सरकारले सामाजिक सदभाव कायम राख्नको लागि समेत खोज अनुसन्धान गर्नु आवश्यक छ ।
२.गोरखनाथी सम्प्रदाय
गोरखनाथी सम्प्रदायका सन्न्यासीहरु नाथ योगी मानिन्छन । यिनीहरु कपाल मुण्डन गर्दा टुपी राख्दछन र फेरी लगाउदछन । नाथ सम्प्रदायमा गोरखनाथ वा मत्स्येन्द्रनाथलाई मात्र सर्वोच्च मुक्ति वा मुक्तिको श्रोत मान्ने साधुहरुको संप्रदायमा प्रचलन रहेको छ । यस सम्प्रदायको बारेमा जान्नको लागि नाथ, नवनाथ, चौरासी सिद्ध र बाह्र पन्थीका बारेमा जान्न आवश्यक रहेकोले तिनको बारेका जानकारी प्रस्तुत गरिएको छ ।
२.१.नाथ
भगवान शिवले योग वलका माध्यमबाट विभिन्न ज्ञान र विज्ञानको रहस्यात्मक तत्वलाई लोककल्याणका निम्ति सिंचित गराएर उपकारी, परोपकारी, शक्तिवान, क्षमतावान, वलवान हुदै शक्तिपुञ्जमा परिणत हुन सक्ने दिव्य स्वरुपका लागि नाथ परम्पराको सुरुआत भएको पाईन्छ ।
नाथ शब्दले दिने अर्थ अनेक छन् । नाथ शब्दको व्युत्पत्तिमूलक अर्थलाई हेर्दा यो शब्दले पुलिंग नामलाई संकेत गरेको पाईन्छ । यसलाई “नाथति ईश्वर : भक्तिति”भनिएको छ । जसमा नाथ : अच् भएर नाथ शब्द व्युतपत्ति भएको हुन्छ । यसले स्वामी, मालिक, पति, खसम, संरक्षक, प्रभु, प्रमुख, ईश्वर, भगवान, खानदानदेखि मान्दै आएका गुरु र गुरुजन, ऐश्वर्यशाली पुरुष, मायाजेता, कामजेता, सिद्ध, रक्षक, अधिपति हुदै शिव तत्वलाई वोध गराउदछ । नाथ शब्दले सम्माननीय ब्यक्तिको परिचय एवं क्षमतावान व्यक्तिको उच्चताको झलकलाई पनि बुझाउदछ ।
नाथमा आएको (ना) ले आदि रुप र (थ) ले भुवनत्रयमा स्थापित हुनुलाई संयोग गरेर नाथ शब्द प्रयोग हुदै आएको छ । शक्ति संग्राम यन्त्रमा नाथमा आएको (ना) ले नाद ब्रह्म र (थ) ले अज्ञानतालाई विनष्ट गर्नेले ब्रह्ममा साक्षात्कारको माध्यमबाट अज्ञानतालाई हटाई ज्ञान प्राप्त गर्दछ भन्ने अर्थ वोध गराउदछ ।
नाथ परम्परामा एउटा मात्र शक्तिलाई केन्द्र विन्दु बनाएको पाईदैन । सर्वप्रथम नाथमा आदि नाथका रुपमा भगवान शिवलाई मानिन्छ, किनकी भगवान शिवनै परमतत्व, शक्ति एवं योगका आदि स्रष्टा र प्रणेताका रुपमा मानिन्छ । उनै आदि शक्ति शिवबाट योगको तत्व एवं गुह्य रहस्यलाई विस्तार गर्ने क्रममा गुरु शिक्ष्य परम्पराको थालनी भएको ठानिन्छ यसै सन्दर्भमा नाथ परम्पराको विकास भएको मानिन्छ ।
२.२. नव नाथ :
नेपालमा नव नाथलाई विशेष महत्व दिएको पाईन्छ । ती नव नाथहरु निम्न अनुसार रहेका छन् :
| क्र. सं. | नव नाथ विवरण |
| १ | आदिनाथ (मूलनाथ ) : भगवान शिव |
| २ | उदयनाथ : माता पार्वती |
| ३ | सत्यनाथ : श्री बह्मा |
| ४ | सन्तोषनाथ : श्री विष्णु |
| ५ | अचल अचम्मनाथ : वायु |
| ६ | गजवेली गजकन्थनाथ : श्री गणेश |
| ७ | चौरागीनाथ : चन्द्रमा |
| ८ | मत्स्येन्द्र नाथ |
| ९ | गोरखनाथ |
(मत्स्येन्द्र नाथ र गोरखनाथलाई नाथ परम्परामा शक्ति र सिद्ध दुवै रुपमा लिएको पाईन्छ ।)
नवनाथ परम्परामा योगीलाई नाथका रुपमा लिईन्छ । यिनीहरुको सास्कृतिक पक्षमा शरिरमा भष्मलेप गर्ने, खराउ लगाउने, कानलाई चिर्ने (कन्फटा ) विभिन्न शक्ति स्वरुपका कुण्डल धारण गर्ने, त्रिशुल, डमरु आदि लिने सर्पको माला र रुद्राक्षको माला धारण गर्ने, जटाधारी हुने आदि रुपमा नाथ परम्परा रहदै आएको पाईन्छ । नाथ परम्परामा गुरुबाट विशेष पूजाका साथमा सावर मन्त्र धारण गरेपछि मात्र शिष्य बनाइन्छ ।
२.३. चौरासी सिद्ध :
सिद्ध भन्नाले महान विचारक, साधु, योगी, अलौकिक शक्ति भएको, पूर्ण, पूर्णता भएको, भौतिक तथा अध्यात्मिक शास्त्रमा सर्वोत्कृष्ठता डिग्री प्राप्त गरेको ,भूत र भविष्यको बारेमा जानकारी दिन सक्ने र योगमा पूर्ण भएको बुद्धिमानी व्यक्तित्वलाई जनाउदछ ।
चौरासी सिद्धहरुको नाम निम्न अनुसार रहेको छ :
कपिलनाथ, सनकनाथ, लंकनाथ, सनातननाथ, विचारनाथ, मिथारीनाथ, रत्ननाथ, श्रृंगेरीनाथ
सनन्दननाथ, निवृत्तिनाथ, सनतकुमारनाथ, जलन्धरनाथ, सरस्वतीनाथ, ब्रह्मीनाथ, प्रभुदेवनाथ,कनकीनाथ, धुन्धुकारनाथ, नारददेवनाथ,
मञ्जुनाथ,मानसीनाथ,बीरनाथ,हरितेनाथ,नागार्जुननाथ,भुस्काईनाथ, मदरनाथ, गाहिनीनाथ, भुचरनाथ, हम्वनाथ,ब्क्रनाथ, चर्पटनाथ, विलेश्याँनाथ, कनिपानाथ, विर्वुकनाथ, ज्ञानेश्वरनाथ, तारानाथ, सुरानन्दनाथ, सिद्धबुधनाथ, भागीनाथ,पिपलनाथ,चन्द्रनाथ,भद्रनाथ, एकनाथ,मणिकनाथ,तिन्तिनीनाथ, बाबा मस्तनाथ,यज्ञवलक्यनाथ, कायानाथ,गेहल्लारावलनाथ, कणनाथ, हवाइनाथ, दरियानाथ,खेचरनाथ,घोडाकोलियानाथ, संजीनाथ, सुकदेवनाथ, औघरनाथ, देवनाथ, प्रकाशनाथ, कोर्टनाथ, वालकनाथ, बाल्गुँदैनाथ, शबरनाथ, विरुपाक्षनाथ, मल्लिकानाथ,गोपालनाथ, लघाईनाथ, अलालमनाथ, सिद्धपादनाथ, गौरवनाथ, धीरनाथ, सोहिरोवानाथ, प्रउद्धनाथ, गरिवनाथ, कालनाथ, धरमनाथ, मेरुनाथ, सिद्धासननाथ, सुरतनाथ, मारकण्डेयनाथ,, काकाचण्डीनाथ, चक्रनाथ, नरमैनाथ
२.४.नाथ सम्प्रदायका बाह्र पन्थ :
नाथ सम्प्रदायमा महायोगी गुरु गोरक्षनाथको स्थान महत्वपूर्ण एवं सर्वश्रेष्ठ रहेकोछ किन की गोरक्षनाथ नै यस्ता व्यक्ति हुन जसले नाथ सम्प्रदायको समग्र संगठन तथा सक्षम नेतृत्व गरेका थिए । गोरक्षनाथ नाथ पन्थ योगी थिए । उनको हठयोग मार्गको प्रभाव जगतमा नै विख्यात छ । उनले योगसिद्धिद्वारा सम्पूर्ण जगतरुपी समाजलाई सुसंस्कृत, रक्षित तथा उन्नत गरे । गुरु गोरक्षनाथ नाथ पन्थको उन्नतिकोलागि बाह्र पन्थको निर्माण गरे । त्यसो त गोरक्षनाथले १२ पन्थको निर्माण गर्नु भन्दा पहिले नै आदिनाथद्वारा प्रतिपादित १८ पन्थ छदै थिए । गोरक्षनाथद्वारा १२ पन्थ बनाई सकेपछिको समयदेखि अहिलेसम्म नाथ सम्प्रदायमा यहि १२ पन्थलाई नै अंगाल्दै आएको पाईन्छ ।
२.४.१. नाथ सम्प्रदायका बाह्र पन्थको वनावट :
नाथ पन्थमा आदिनाथको १८ पन्थ र गोरक्षनाथको १२ पन्थ गरी जम्मा ३० पन्थ हुन्छन तर त्र्यम्बक क्षेत्रको कुम्भमेलामा सम्पूर्णनाथहरु, नवनाथ, चौरासीसिद्धहरुको जमघटमा पन्थको विषयलाई लिएर ठूलो विवाद भएपछि आदि नाथको १८ पन्थबाट ६ र गोरक्षनाथको १२ पन्थबाट ६ गरी जम्मा १२ पन्थ र्निक्यौल गरियो । त्यसकारण नाथ सम्प्रदायमा १२, १८ पन्थको पन्थ धारी भन्ने चलन चलेको छ । कतै कतै अनेकानेक पन्थ भन्ने गरेको पाईन्छ । नाथ सम्प्रदायका बाह्र पन्थको बनावट निम्न अनुसार रहेका छन् :
(१) आदि नाथबाट लिएका ६ पन्थ : सत्यनाथी पन्थ, रामनाथी पन्थ, पागल पन्थ, पाव पन्थ, धर्मनाथी पन्थ र माननाथी पन्थ हुन ।
(२) गोरक्ष नाथबाट लिएका ६ पन्थ : कपिल पन्थ, गंगानाथी पन्थ, नाटेश्वरी पन्थ, आई नाथ , बैराग पन्थ र रावल पन्थ हुन ।
(३) नाथ सम्प्रदायका बाह्र पन्थ : नाथ सम्प्रदायका बाह्र पन्थ र तिनको वर्णन निम्न अनुसार रहेका छ : (१) सत्यनाथी पन्थ (२) रामनाथी पन्थ (३) पागल पन्थ (४) पाव पन्थ (५) धर्म नाथी पन्थ (६) माननाथी पन्थ (७) कपिल पन्थ (८) गंगानाथी पन्थ (९) नाटेश्वरी पन्थ (१०) आई नाथ (११) बैराग पन्थ (१२) रावल पन्थ
१) सत्यनाथी पन्थ : यो पन्थका मूल प्रवर्तक भगवान आदिनाथ शिव हुन् भने यस पछिका प्रवर्तक चाहि सत्यनाथ बह्रमाजी हुन् । यसका मुख्य स्थानहरु पातालपुरी उडिसाको भुवनेश्वर र खण्ड प्रदेश उत्तराखण्ड हुन् । यो पन्थको मूख्य विशेषताहरुमा रजतत्वकोे साधना, ध्यान, समाधिरत रही उध्र्वत्वमा बह्रमाण्ड भ्रमण, सम्प्रदायिक कार्यमा योग प्रचार, धर्म प्रचार, सिद्धपीठको पात्रदेवको पीर, महन्थ, कोठारी, पंख, भण्डार सेवा आदि हुन् । सत्यनाथी पन्थका योगी भएसम्म अरु नाथ योगीहरुले सम्प्रदायी कार्य गर्न पाउदैनन् । यो सत्यनाथी पन्थको मुख्य विशेषता हो ।
२) रामनाथी पन्थ : यो पन्थको मूल प्रवर्तक भगवान आदि नाथ शिवजी हुन् , यसका पछिका प्रवर्तक परशुराम (विष्णुजी) लाई मानिन्छ । यसको मुख्य स्थान धनौरी गद्धी सिरमथ्या हरियाणा र नेपाल हो । यो पन्थका योगीहरु निर्भयी , शुर, मर्या्दित ,कामक्रोध रहित हुन्छन् । यिनीहरु आफ्नो धुनमा रमाइरहने , साधनयुक्त रही , सहस्रागारमा अनाहदनाद सुनेर बस्ने , शान्ति पे्रमी , सत्यवादी , साम्प्रदायिक कार्यमा योग साधनाका प्रचारक , पात्रदेवताको कुम्भमेलामा भण्डार सेवामा लागिरहने हुन्छन् ।
३) पागल पन्थ : यो पन्थको मूल प्रवर्तक भगवान आदि नाथ शिवजी हुन् भने पछिका प्रवर्तकको रुपमा पालक नाथजी लाई लिइन्छ । यो पन्थको मुख्य स्थान रोहतास पेशावर र अस्थलवेहर हरियाणा हो । यस पन्थका व्यक्तिहरु धुनी जगाउने , व्रह्माण्ड भ्रमणमा आनन्द लिने , हठयोग तामसतत्वको साधनारत हुने गर्दछन् बह्रम अग्नि उत्पन्न गर्ने शक्ति राख्दछन् । धर्म प्रचार , योग साधना प्रचार , सम्प्रदायिक कार्यमा पात्रदेव कुम्भमेलामा पञ्च भण्डारी , स्थानधारी महन्थ , पीर भएर बस्दछन् ।
४) पाव पन्थ : यस पन्थका मूल प्रवर्तक पनि भगवान आदिनाथ शिवजी नै हुन भने जिम्मा पाएका प्रवर्तक जलन्धरनाथ हुन । मुख्य स्थानका रुपमा जालौर राजस्थानलाई लिईन्छ । यस पन्थका योगीहरु धुनी जगाउने, तमतत्वको साधन गर्ने, हठयोगी, शुन्य ध्यान, उन्मनी अवस्थामा रहने, निरालम्बी, कर्नीकथनीको बिचार, दार्श्निक सिद्धान्तलाई मान्यता, योग प्रचार ,साम्प्रदायिक कार्यमा कुम्भ मेलामा पञ्चकारुपमा सबैको सेवा गर्ने गर्छन ।
५) धर्मनाथी पन्थ :यस पन्थका मूल प्रवर्तक पनि भगवान आदिनाथ शिवजी नै हुन् । पछिका प्रवर्तककारुपमा धर्मराज युधिष्ठिरलाई लिइन्छ । मुख्य स्थानका रुपमा दुल्लु दैलेख नेपाल र हिजोआज गोरखपुरलाई पनि मानिन्छ । यो पन्थका योगीहरु सत्यधर्म नाथधर्म पालन गदै साधनाद्वारा शिवतत्व प्राप्त गर्ने हुन्छन् । यिनीहरु घुमफिरमा रमाएर बस्दछन् उनमनी अवस्थामा आननिन्दत रहन्छन् भने कार्यका रुपमा योग प्रचार, धर्म प्रचार, सामप्रदायिक कार्यमा कुम्भमेलामा कारोवार तथा लेनदेनको कार्य, भण्डारी तथा पञ्च भई सेवा गर्दछन् । त्यस्तै आफ्नो घर तथा मठ मन्दिरमा महन्त भएर बस्दछन् ।
६) माननाथी पन्थ : यस पन्थका मूल प्रवर्तक पनि आदिनाथ भगवान शिव नै हुन् । पछिका प्रवर्तक राजा ऋशालुलाई मानिछन । यसको मुख्य स्थानका रुपमा टाई जोधपुर सिकर राजस्थानलाई मानिन्छ । यस पन्थका योगीहरु मनलाई नियन्त्रण , इच्छादमन, विकारलाई त्याग, निर्भयी, सत्य तत्वका साधक हुन्छन् । सधै आनन्दित रहन्छन् । धर्म प्रचार , योग प्रचार , साम्प्रदायिक कार्यमा कुम्भ मेलाको समयमा भण्डारी , पञ्चसेवक तथा औघडको रुपमा सेवारत रहन्छन् । मठमन्दिरका महन्त पनि हुन्छन् ।
७) कपिलनाथ पन्थ : यस पन्थका मूल प्रवर्तक महायोगी गोरक्षनाथलाई मानिन्छ । उत्तराधीकार प्रवर्तक महर्षि कपिलमूनी हुन् । महर्षि कपिलमूनीलाई नाथ सम्प्रदायमा कपिलनाथजी पनि भनिन्छ । मुख्य स्थानका रुपमा गोरखवंशी कलकत्ता , वंगाल र जिहाण गद्धिखरक हरियाणालाई मानिन्छ । यस पन्थका योगीहरु काली तथा भैरवको उपासक हुन्छन् । शक्ति पूजा तन्त्रमन्त्रका साधक हुन्छन् । तामसी , उग्रतपस्वी , त्यागी , हठयोगी , कपिल साङख्यद्वारा पिण्ड व्रहमाण्ड प्रकृति पुरुष , प्रकृतिको ज्ञानी भई शिव स्वरुप प्राप्त गरेका हुन्छन् । योगी तथा धर्म प्रचार पनि गर्दछन् । साम्प्रदायिक कार्यमा कुम्भ मेलामा राजाजी ,पीरजी , भण्डारी तथा पञ्चकारुपमा सेवारत रहन्छन् ।
८) गङ्गानाथी पन्थ : यस पन्थका मूल प्रवर्तक महायोगी गोरक्षनाथ हुन् । पछिका प्रवर्तक महर्षि भगीरथ तथा भीष्मलाई मानिन्छ । मुख्य स्थानहरुमा गंगा सागर बंगाल र गुरुदासपुर पञ्जाव हुन् । यस पन्थका योगीहरु प्रज्ञवादी , हठयोगी , भगीरथी प्रयत्नद्वारा शिवतत्व प्राप्त गर्ने हुन्छन् । यिनीहरु शक्ति उपासक , तन्त्रमन्त्र साधक तथा आफ्नै धुनमा रमाएर बस्ने खालका हुन्छन् । धुनी , शम्शान क्रिया , योग प्रचार , धर्म प्रचार कुम्भ मेलामा यिनीहरु राजाजी , पीरजी , भण्डारी , पञ्च आदि भई सेवा गर्दछन् ।
९) नाटेश्वरी पन्थ : यस पन्थका मूल प्रवर्तक पनि महायोगी गोरक्षनाथ नै हुन् । पछिका प्रवर्तकका रुपमा लक्ष्मणजीलाई लिइन्छ , नाथ सम्प्रदायमा वालनाथ अथवा नागनाथ पनि भनिन्छ । मुख्य स्थान गोरखटिल्ला झेलम पञ्जाव प्रदेशलाई मानिन्छ । यो पन्थका नाथ योगीहरु पनि सत्यवादी भगवान शिव सम्मान हुन्छन् । राजयोगका साधक हुन्छन् । ब्रहमाण्ड भ्रमण अमर वज्रकायी तथा आनन्दित अवस्थामा रहन्छन् । सामप्रदायिक कार्यमा धर्म प्रचार , योग प्रचार , कुम्भमेलामा पात्र देवताका राजाजी , पीरजी , पूजारी ,भण्डारी , पञ्चका रुपमा सेवा गर्दछन् ।
१०) आई पन्थ : यस पन्थका मूल प्रवर्तक महायोगी गोरक्षनाथ नै हुन् । उत्तराधिकार प्रवर्तक आमा शक्ति विमला उदयनाथ पार्वती भवानीलाई मानिन्छ । यसको मुख्य स्थानका रुपमा विमला गुफा , बंगाल र कोथ हरियाणालाई लिइन्छ । यो पन्थका योगीहरु आदि शक्तिका उपासक , निर्भयी सिद्धसाधक हुन्छन् । उध्र्वमुखी सहस्रागारमा आनन्दित भई रमाउछन् । यिनीहरु मठधारी ऋद्धि सिद्धिपूर्ण , शिवका अभिन्न हठयोगी , वैरागी मोहमायात्यागी हुन्छन् । साम्प्रदायिक कार्यमा योग प्रचार गर्ने तथा हरेक मठमा महन्त , भण्डारी , पञ्च भई सेवारत रहन्छन् ।
११) वैराग पन्थ : यस पन्थका मूल प्रवर्तक पनि महायोगी गोरक्षनाथ नै हुन् । यसका पछिका प्रवर्तकका रुपमा भर्तृ हरिनाथलाई लिइन्छ । मुख्य स्थान राताडुण्डा राजस्थानलाई मानिन्छ । यस पन्थको नेतृत्व राजा भर्तृहरिले गरेका हुँदा यसका योगीहरु नीतिनिपूण भई वैरागी , शृङ्गारनिपूर्ण , पूर्णत्यागी , हठयोगी , मनलाई आफ्नो नियन्त्रणमा राख्ने , ध्यानी , शुन्य अवस्थामा आनन्दित रहने हुन्छन् । सामप्रदायिक कार्यमा कुम्भ मेलामा राजाजी , पीरजी , भण्डारी तथा पञ्च भई कार्य गर्दछन् ।
१२) रावल पन्थ : यस पन्थका मूल प्रवर्तक महायोगी गोरक्षनाथ हुन् । पछिका प्रवर्तक सिद्ध रावलनाथलाई मानिन्छ । मुख्य स्थानको रुपमा गैलपुर बाँदरवारी अफगानिस्तानलाई लिइन्छ । यस पन्थका योगीहरु समतायोगी , हठयोगी , पञ्चतत्व भेदन गर्ने बलवान , विर्यवान , श्रद्धा विश्वासी , शिवकृपाधीन हुन्छन् । साम्प्रदायिक कार्यमा योग प्रचार , धर्मप्रचार कुम्भमेलामा पत्र देवताको भण्डारी , पञ्च तथा सेवक औघडका रुपमा कार्य गर्दछन् ।
नाथ सम्प्रदाय गृहस्थीविहिन नाथ वा गृहस्थरुपी नाथ , १२ पन्थी वा १८ पन्थी वा अनेकानेक पन्थी जे भन्ने गरे तापनि र्निक्यौल भएको १२ पन्थलाई नै सबै नाथ योगीहरुले मानेको पाईन्छ ।
३. दशनामी सम्प्रदाय
सन्न्यासीहरु दशनामी मानिन्छन । दशनामी सम्प्रदायका सन्न्यासीहरु शंकराचार्यका अनुयायी मानिन्छन । यिनका दश वटा थर भएकाले दशनामी भनिएको हो । दशनामीहरु गिरि, पुरि, भारती, सरस्वती, सागर, पर्वत, अरण्य, तीर्थ, वन र आश्रम रहेका छन ।यिनीहरुको गुरु मन्त्र धारण गर्ने संस्कार वर्तबन्ध जस्तैमा कपाल मुण्डन गर्ने चलन हुन्छ तर टुपी राख्दैनन र फेरी पनि लगाउदैनन ।
४.योगी सन्न्यासीका जातीय संस्कार :
सन्यासीहरुका विभिन्न थर भए तापनि यिनीहरुका संस्कारमा समानता रहेको पाइन्छ ।
४.१.अभिवादन विधि
यी जातिमा अभिवादन अन्य जातिसंग अरु जातिले गोरखनाथ सम्प्रदायका व्यक्तिहरुसंग अभिवादन गर्दा नाथ जी आदेश ! पुकार गर्दछन भने त्यसको प्रति अभिवादनमा नाथ जी ले धर्मको जय होस आदेश पुकारेर आशिर्वाद दिन्छन । त्यसै गरी दशनामी सम्प्रदायका व्यक्तिहरुलाई अन्य जातिले अभिवादन गर्दा नमो नारायण ! पुकार गर्दछन भने त्यसको प्रति अभिवादनमा दशनामीहरुले नारायण ! पुकार गरी आशिर्वाद दिन्छन । नेपालमा चार जात छत्तिस वर्णमा विभाजन राजाहरुले नै गरेका हुन । योगी सन्न्यासीहरुलाई राजाहरुले आफ्नो गुरु मानेर चार जात भित्र राखेनन् । यी जातका मानिसहरुलाई अन्य जातिका मानिसहरुले अभिवादन गर्ने र यिनीहरुले आफ्नो जात बाहेक अरु जातिलाई शुरुमा अभिवादन गर्दैनन् । तर आफ्नो जातिमा नाथजी नाथजी बीच आदेश ! आदेश ! गरेर अभिवादन चल्छ । दशनामीहरु बीच नारायण ! नारायण ! पुकारेर अभिवादन चल्दछ । गृहस्थमा रहेका सन्न्यासी हरु बीच जौद ! पुकारेर अभिवादन चल्दछ ।
४.२.वर्तबन्ध विधि
वर्तबन्ध यिनीहरुमा वर्तवन्ध सामान्य तया दुई किसिमले गर्ने चलन रहेको छ । एक त बाहुन क्षेत्रीको जस्तै नदी किनारमा गएर बाहुनद्वारा कर्मकाण्ड गरी मुण्डन होम गरेर गायत्री मन्त्रबाट दिक्षा दिइन्छ । भने अर्को तरीका हो घरको गोठमा वर्तबन्ध गर्ने यसमा पनि बाहुनद्वारा विधि विधान तथा कर्मकाण्ड पुरा गरी वर्तबन्ध गरिन्छ ।
४.३.उपदेश कर्म विधि
सन्न्यासी जतिमा उपदेशकर्म महत्वपूर्ण तथा अनिवार्य कर्मको रुपमा मानिन्छ । उपदेश लिएका लाई उपदेशी र उपदेश नलिएका लाई कण्ठकी भनेर चिनिन्छ । यी जातिहरुमा उपदेश भनेको वर्तबन्ध नै हो तर वर्तबन्ध उपदेश कर्म होइन । बर्तबन्ध ब्रहमण गुरुद्वारा गरिन्छ भने उपदेश नाथ योगी गुरुद्वारा गरिन्छ ।उपदेश कर्म वर्तबन्ध नहुने महिनामा पनि गरिन्छ जस्तै मंसिर महिनामा वर्तबन्ध गरिदैन भने यस महिनामा प्रायस् उपदेशको लागि उपयुक्त मानिन्छ ।
यस विधिमा नाथ योगीगुरु कन्फट्टा वा कानमा कुण्डल धारीबाट गरिन्छ । हाल आएर कुनैकुनै ले यसलाई पेशाको रुपमा लिएर यस सम्बन्धी शिक्षा सिकेर उपदेश कर्म गर्दै हिडेका पनि देखिन्छन । खसगरी उपदेश कर्म गर्नको लागि सात जना योगीहरु आवश्यक पर्दछन । यी सात जनाले सप्तऋषिको प्रतिकको रुपमा काम गर्दछन । उपदेश कर्म जुन व्यक्तिलाई गराइन्छ त्यसले यज्ञ तयारी हेर्न पाउदैन । सबैभन्दा पहिले योगी गुरुले उपदेश कर्म गरेका व्यक्तिको सहायताले यज्ञको तयारी गर्दछन । यज्ञ तयारीमा सबै भन्दा महत्वपूर्ण ज्योत र ज्योति ( एक प्रकारको दियो यो सवालाखको वत्तिको प्रतिको रुपमा तयार गरिन्छ । ) अर्को आकर्षण यज्ञको शिंगार पटार हो । यज्ञलाई सप्तरंगी ( सात वटा रंङ्ग ) बाट सजावट गरिन्छ । यसरी सजावट गरेको यज्ञको बीच भागमा ज्योत बालेर राखिन्छ । त्यसले सप्तरंगी यज्ञको चमकनै अलौकिक हुन्छ ।यो सामुहिक पूजा हो ।नयाँ उपदेशीलाई यज्ञ स्थलमा प्रवेश गर्नु अगाडि निजले कुनै प्रकाश नदेख्ने गरी रुमालले आँखामा पट्टी बाधेर यज्ञमा प्रवेश गराइन्छ । भित्र यज्ञमा प्रवेश गरेपछि काटकाट मारमार भनेर कराउने गरिन्छ । कहि कतै ठाउँ अनुसार रमाइलोको लागि देवार – भाउजु, काका – भतिजा, साला – भिनाजु बीच नव प्रवेशीलाई कुट्ने पनि गरिन्छ । नाङ्गो खुकुरी घाँटीमा राखिन्छ । त्यसपछि आँखाको पट्टी खोलिन्छ र के देख्नु भयो भनेर सोधिन्छ । नव प्रवेशीको हातमा फलफुल राखिन्छ । अनि ऋद्धि सिद्धिको भण्डार देखे भनेर भन्नु पर्दछ । त्यसपछि ज्योतिको पूजा गरिन्छ । विधिपूर्वक पूजा आजाको काम सम्पन्न हुन्छ । सात जना गुरुहरुले कानमा फूकेर मन्त्र दिन्छन । गुरुहरु आसनमा विराजमान हुन्छन । सबै गुरुजनहरुलाई पालै पालो प्रणाम् गर्ने र आशिर्वाद लिने कार्य गरिन्छ । पुरुषले जनै र यज्ञोपवित धारण गर्दछन । पूजा कार्य समाप्त भएपछि उपदेश कर्म गर्ने सबै लाई मूल गुरुबाट रक्षाबन्धन बाधिन्छ । प्रसाद तथा आशिर्वाद दिइन्छ र शिक्षले गक्ष र क्षमता अनुसारको दान दक्षिणा दिने चलन छ । अन्तिममा होम पूर्णा गरी उपदेश कर्म यज्ञको कार्य समापन गरिन्छ । अर्को आकर्षक को रुपमा बीर गफ्फा चामलको पिठोलाई घ्यू, मह, चिनी, सख्खर हालेर एक सेर देखि पाँच सेरसम्मको तौलको बनाईन्छ । कुनै बीर व्यक्तिलेमात्र यसलाई खान सक्दछ वा खाने हिम्मत गर्दछ । यदि यो कुनै बीरले खान्छ भने खान शुरु गरेपछि मुखबाट हटाउनु हुदैन । बीरले बीर गफ्फा जति खानसक्यो खान्छ यदि बाँकी रहेको अंश सेलाउने ( शुद्ध स्थानमा बिसर्जन ) गरिन्छ । बीर गफ्फा खाने कुनै बीर फेला परेन भने त्यसलाई शुद्ध ठाउँमा विसर्जन गरिन्छ । बीर गफ्फा सेवन गर्ने कार्य उपदेश कर्म सम्पन्न भएपछि प्रसाद ग्रहण गर्ने बेलामा गरिन्छ ।
४.४.जनै धारण विधि
यिनीहरुको जनै लगाने बाहुन क्षेत्री र वैश्य भन्दा निकै फरक हुन्छ । जनै वर्तबन्ध वा उपदेश कर्म गरी सकेपछि लगाइन्छ । यिनीहरुको जनै बाहुन क्षेत्री र वैश्यको एक जनैको दुई वटा गाठो छुट्टयाइ त्यसैलाई दुई वटा जनै बनाएर एक भगवान शिवलाई चढाउने र अर्को आफू धारण गर्ने गर्दछन । खास गरी ब्रह्मचार्यहरुले तीन धागाको जनै र विवाहितहरुले छ वटा धागा भएको जनै धारण गर्दछन । सन्न्यासीहरुले जनै धारण गर्दा सिधा लगाउने चलन रहेको छ । बाहुन क्षेत्रीहरुले जनै लगाउदा बायाँ काँधको माथिबाट हुदै दायाँ काँधको मुनी तिर लगाउछन । योगीहरुले ऊनी धागोबाट बनेको जनै लगाउछन र त्यसमा नाद जडित गर्दछन । यो बज्ने गर्दछ । गैंडाको हाडको बन्दछ । यसलाई सक्कली जनै मानिन्छ । तर दशनामीहरुको जनै नाथहरुको जस्तै भएपनि यिनीहरुले जनैमा रुद्राक्षको दाना जडित गरेको हुन्छ ।
४.५.फेरी लगाउने विधि
फेरी भन्नाले योगी जतका मानिसले फुकेर बजाउने बाजा हो । यो जंगली जनावर मृग, बराँठ, हरिण, कृष्णसारको सिङबाट बनाएको हुन्छ ।यसलाई विशेष मन्त्र उच्चारण सहित फुकेर बजाइन्छ ।गाउँघरमा कार्तिकदेखि फागुनसम्म मध्य रातको समयमा डुलेर फुक्ने चलन रहेको छ ।यसरी फुकेर बजाएपछि वर्षभरी भूतप्रेत केही पनि लाग्दैन भन्ने मान्यता रहेकोछ ।यसरी फेरीलगाउदा फेरीको पवित्र आवाजले त्यसको आवाज पुगेसम्म शान्ति दिन्छ भन्ने भनाई छ । रात भरी फेरी लगाए वाफत योगीलाई बिहान फेरी लगाएको ठाउँका बासिन्दाहरुले आफ्नो क्षमता अनुसार दान दक्षिणा दिने चलन रहेको छ । योगीहरुको कुलदेवता भैरवको पूजा गर्दा, बली दिदा, धुप धुवाँर गर्दा फेरी फुक्ने चलन छ ।
यसको शुरुवात सत्य युगबाट भएको मानिन्छ ।यसको प्रचलन गुरु गोरखनाथबाट शुरु भएको हो भन्ने भनाई पनि छ । सत्ययुगमा राक्षसहरुको निकै विगविगी थियो ।देवताहरु राक्षस देखि डराउदथे । गुरु गोरखनाथ आफै गाउँघरमा पुगेर फेरी लगाएर राक्षसहरु बाट बचाएको थियो ।त्यही प्रचलन क्रमश: कान चिरेका योगीहरुलाई उत्तराधिकारीको रुपमा उनले सुम्पे पछि योगीहरुले फेरी लगाउन थालेको हुन सक्ने किवदन्ती रहेको छ ।यो प्रचलन नेपालको पूर्वी क्षेत्रमा बढी प्रसिद्ध रहेको छ भने यो क्रमश: पश्चिममा खासै छैन ।
४.६.मृत्यु दाह संस्कार विधि
मृत्यु अगाडि गिता पाठ गर्ने हरिनाम उच्चारण गर्ने गंगाजल वा तुलसीको पानी पिलाउने गरिन्छ । मृत्यु पश्चात लास राख्ने ठाउँ गाईको गहुत गोवरले लिपेर शुद्ध बनाइन्छ । त्यसमा लासलाई पद्धमाशन बनाएर राखिन्छ । बस्त्र ओढाइन्छ । स्नान गरी वस्त्र तिलक दिइन्छ । यिनीहरुको मृत्यु हुदा तीन प्रकारको मसान घाट हुन्छ । एउटा त मुख्य मसान घाट, इष्ट मित्र वा विवाहित छोरी बेटी र न्वारन नगरेका बच्चा एवं सुत्केरी महिलाको लागि दाहसंस्कार गर्ने मसान घाट हुन्छ । यी जातिहरुले मरे पछि लासलाई जलाउनुको सट्टा गाडने गर्दछन । करिव ६ फिट गहिरो खाडल खनेर खाडलको शुरुमा नुन राख्दछन । जसले लासलाई छिटो गलाउन मद्दत गर्दछ । नुन माथि लासको लागि आसन तयार गरिन्छ । आसन माथि लासलाई पद्मासनमा राखिन्छ । लासको बायाँ हातामा कमण्डल र दायाँ तिर जौंको रोटी जुन जातोमा उल्टो घुमाएर पिसेको हुन्छ र पकाउदा खेरी एउटा रोटीमात्र पकाइन्छ । त्यसपछि लासलाई पूजा गरी, जलपान गरी, माटोले पुरिन्छ । लासलाई माटोले पुरिसके पछि माथि समाधि बनाइन्छ । समाधि तयार गरी समाधिलाई जलले नुहाएर पूजा गरी सकेपछि पछाडि फर्कि नहेरी चिहानबाट मलामीहरु बिदा हुने चलन रहेको छ ।
४.७.काट्टो पकाउने विधि
यी जातीका मानिस मरेको वा काजक्रिया शुरु गरेको सातौं दिनमा दोबाटोमा हलुवा पकाएर दोबाटोमा नै राखिन्छ भने यसलाई सते काट्टो पकाउने भनिन्छ । क्रियापुत्रीले यो कार्य सम्पन्न गर्दछन ।
४.८. भण्डारो खुलाउने विधि
यी जातीका मानिसको मृत्यु भएको १३ दिनमा शुद्ध भएपछि मलामीहरु सबैलाई बोलाएर भोज भतेर गरिन्छ, यसै भोज भतेर कार्यलाई भण्डारो खुलाउने भनिन्छ । यसले मृत आत्माको चीर शान्ति हुन्छ भन्ने धारण राख्दछ । मलामी जाने सबै जनाको भाग बण्डा लागाइन्छ । यसमा मृतकको भागलाई समाधीमा चढाइन्छ ।
४.९.पिण्डको सट्टा रोट काट्ने विधि
सन्यास लिएका योगी सन्यासीको मृत्यु भएमा पिण्डको सट्टा रोट काट्ने चलन रहेको छ । मृत्यु भएको ३ दिन, ७दिन र ११ दिनमा रोट काट्ने गरिन्छ । यो मृत्यु भएको व्यक्तिको शिक्ष वा चेलाबाट सम्पन्न गरिन्छ ।
४.१०.शंखढाल विधि
उपदेश कर्म गरेको सन्न्यासी सम्प्रदायको मानिस मरेपछि गरिने कर्मलाई शंखढाल कर्म भनिन्छ । मृत आत्माको मोक्ष प्राप्त गरोस भनेर यो कर्म गरिन्छ ।शंखढाल गरेपछि मृत आत्मा शिवलोकमा बास गर्दछ भन्ने भनाई रहेको छ ।मानिस मरेको तेह्रौं दिन देखि १ वर्ष भित्र गर्नु पर्ने मान्यता रहेको छ तर यस समयावधि भित्र गर्न नसकेमा त्यसपछि पनि गर्ने गरेको पाइन्छ ।शंखढाल गरेपछि मृत आत्माको लागि अन्य संस्कार गर्नु पर्दैन । यसको लागि निजका छोरा तथा शिक्षद्वारा गरिन्छ । यो कर्म गर्नको लागि छोरा तथा शिक्षले उपदेश कर्म धारण गरिसकेको हुनु अनिवार्य मानिन्छ । सामान्य तया यो कर्म उपदेश कर्म गरिसके पछि त्यसै ज्योत र ज्योति ( विशेष किसिमको दियो ) को उपस्थितिमा कासकुशको मृत्यु भएको व्यक्तिको प्रतिमा तथा पुतलो बनाएर धागाको १६ सिढी चढाएर अन्तेष्टि गरिन्छ । १६ सिढी चढाउनुको तात्र्पय १६ संस्कार ( गर्भधारण, पुंसवन, सीमन्तोनयन, जातकर्म, नामाकरण, निष्क्रमण, अन्नप्राशन, चुडाकर्म वा मुण्डन, कर्णभेद, उपनयन, वेदारम्भ वा विद्यारंभ, समवर्तन, विवाह, वानप्रस्थ, सन्न्यास र अन्त्येष्टि ) सम्पन्न गरिन्छ । यसरी अन्तेष्टि गरेपछि मुण्डन तथा छेवर गरिन्छ । अन्तमा स्नान गरी शुद्ध गरिन्छ ।
५.निष्कर्ष :
योगी सन्न्यासीहरुको बारेमा सोध खोज आजको आवश्यकता रहेको छ । योगी सन्न्यासीहरु चार जात भन्दा बाहिर रहे पनि सम्प्रदायिक तथा जातीय सदभाव एवम् सहिष्णुता कायम राख्नको लागि यिनीहरुको महत्वपूर्ण स्थान रहेको कुरा फेरी लगाउने योगीहरुसंग अन्य जातजातिका समुदायले गरेको मान प्रतिष्ठाले झल्काउदछ । हरेक व्यक्तिको संस्कार निजको जीवनसंग गाँसिएको हुन्छ । संस्कारले जीवनलाई सुसंस्कृत गर्नमा सहयोग पु्याउदछ । संस्कारले नै मानिसलाई अनुशासित तुल्याउदछ र अनुशासित नागरिकले मात्र नागरिकका दायित्व तथा कर्तव्य पालना गर्न सक्दछ । हरेक राष्ट्रलाई नागरिक कर्तव्य पालना गर्ने नागरिक चाहिएको छ । असल नागरिक तयार गर्ने उत्तम माध्यम उसलाई सु संस्कृत तुल्याउनु हो । यसको लागि एक मात्र उत्तम विकल्प उचित संस्कार प्रदान गर्नु पनि हो । संस्कार नभएको मानव यस धर्तीमा मृत समान हुन्छ । संस्कार तथा संस्कृति जोगाउनको लागि सरकारले सबै समुदायहरु संग हालेमालो गर्दै निरन्तर प्रयत्नशील रहनु अपरिहार्य छ ।
सन्दर्भ सामाग्री
- नेपालको संविधान (२०७२) कानून किताब व्यवस्था समिति, बबरमहल, काठमाडौं
- नेपाल, विनयकुमार शर्मा, नेपाल, वसन्तकुमार शर्मा (२०६४) संक्षिप्त नेपाली शब्दसागर, शब्दार्थ प्रकाशन चावहेल, काठमाडौं
- नेपाल, वसन्तकुमार शर्मा (२००८ अक्टुबर) कानूनी तथा प्रशासकीय शब्दसागर, शब्दार्थ प्रकाशन काठमाडौं, नेपाल
- योगी, काशीनाथ, (२०६७) राष्ट्रिय जागरणका प्रतिक योगी नरहरिनाथ, अन्तर्राष्ट्रिय मञ्च छापाखाना प्रा.लि. अनामनगर, काठमाडौं, नेपाल
- नाथ, बासुदेव,(१ मंसिर २०७४) नाथ परम्परा एक परिचय, ठोक्शिला दर्पण सप्ताहिक, वर्ष ५, अंक१५
- नाथ, बासुदेव (वर्ष ४, अंक ४, २०७७) नेपालका योगी सन्यासी जातिय संस्कार, अमूर्त संस्कृति, नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरवार, काठमाडौं,नेपाल, पृष्ठ१४४-१५४
- (लेखक: राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय हरिहरभवन ललितपुरमा पशु विकास अधिकृत पदमा कार्यरत हुनु हुन्छ । साथै बाह्र पन्थी नाथ योगी संघ नेपालका आजीवन सदस्य हुनु हुन्छ ।)