काठमाडौं, २५ असार । भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटरहरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् ।
भारतीय टेलिभिजनमा नेपाल र नेपालका प्रधानमन्त्रीको विषयमा अतिरञ्जित र अनर्गल प्रचार गरेको भन्दै च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको हाे ।
मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले विदेशी न्युज च्यानल चाहेको समयमा बन्द गर्न सक्ने सन्देश दिन यो निर्णय गरेको बताए । भारतीय न्युज च्यानलहरुको नेपाल विरोधी गालीगलौजले सीमा नाघेपछि हामी वितरकहरुले आफैं सल्लाह गरेर त्यस्ता आपत्तिजनक न्युज प्रसारण गर्ने सबै भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरेकाे जनाउदै यसरी च्यालन बन्द गर्दा २५–३० लाख दर्शकले टेलिभिजन नदेख्ने बताए ।
तर डिजिटल एप (इन्टरनेटबाट हेरीने च्यानलहरू)बन्द गर्ने विषयमा भने सरकारले नै निर्णय गर्नुपर्ने उनले बताए ।
उनले थपे, ‘हामीले भारतीय च्यानल बन्द गर्दा २५–३० लाख टेलिभिजनका दर्शकले हेर्न मिल्दैन तर अब करोडौंले मोबाइल एपबाट हेर्ने भएकाले याे रोक्ने जिम्मा सरकारको हो।’ सरकारले क्लिन फिड लागु गर्नुअघिनै इन्टरनेटबाट अनाधिकृत रुपमा आउने भिडियो कन्टेन्टहरु रोक्न एमएसओहरुले आग्रह गरिरहेका छन् । केबल अपरेटरहरुलाई सरकारले आग्रह गर्दा जुनसुकै बेला विदेशी च्यानलको प्रसारण रोक्न सक्छ ।