मनको छिनो भाँचिएर
विश्वासका आँटीहरूमा खाडल परेपछि
वनमा डुल्ने वनचरीहरूले
यो वनको राष्ट्रिय गीत नगाउँदारहेछन् !
धरधरी फाटेका मनहरू सिउन
उन्मुक्तिको खापसियो लिएर
कोही त पक्कै आउला
बस् !
म त पर्खिरहेछु
जीवनको कलिलो हाँगामा बसेर !
यी ओइलेनी भड्खालाहरू पुरिदिन
आर्किमिडिजका उत्तोलकहरू नारेर
भन न,
तिमी कहिले आउँछौ ?
मेरो क्रान्तिनायक
फूलहरू सहिद भएको यो निर्जन पठारमा !
जवानीका अर्दली नदीहरूमा
पिरतीका कुलकुले डुङ्गााहरू डुबेपछि
यो आकाशका कोरली जूनहरू
परार साल नै त हो
देहुनियाका दमलाहरूमा अस्ताएथे !
सिरुवा खेलिएको जिन्दगीमा
उमेरको पीपल गाछी ढलेपछि
दाँतु बाबैले हुर्काएका सपनाहरू
पोहोर साल नै त हो
बसिलाका पटवारी धारहरूले ताछिएथे !
गर्भिणी पहाडका ओठहरूबाट
मुस्कान भत्केर
मनको पहिरो झरेपछि
भुइँफूलझैँ यो भुइँका भविष्यहरू
यसपालि पनि त फेरि
सरकारी झण्डाका ढिस्काहरूले पुरिए !
समयका भित्ताहरू भत्काएर
गुत्रुइँ चराझैँ जीवनको गीत गाउँदै
भन न,
तिमी कहिले आउँछौ ?
मेरो क्रान्तिनायक
आधा इन्द्रेणी डुबेको यो सीमान्त बस्तीमा !
ए कोही त भनिदेऊ !
जति तान हाले पनि
किन जन्तरीको रोगी हतासोले
यो धर्तीका आदिम दुःखहरू मात्र बुनिरहन्छ ?
जति–जति कर्कले पीडा रेटे पनि
किन साँइलेमाको चुलेसीले
नानीहरूका कलिला खुशीहरू मात्र काटिरहन्छ ?
ए मास्टर्नी दिदी !
पुस्तौंदेखि पोया लगाए पनि
किन दिनकाटुको खोरखोरिया ढेलाले
राष्ट्रियता नबाटेर अभाव मात्र बाटिरहन्छ ?
ए मुखिनी बजै !
जति–जति तेल उघाए पनि
किन नुनिया कान्छीको चौंठामा
दिलमाया खातीका आँसुहरू मात्र भरिन्छन् ?
ओ मेरो क्रान्तिनायक !
यो माटोको जीवनरस रित्तिएर
खङ्ग्रङ्ङ सुकेको जिन्दगीको ब्याडमा
मान्छेको मूल्य जोख्ने
समयको ढक–पल्ला बनाउन
के कुनै विचारको आरन हाल्न मिल्दैन ?