असार १६ काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको नेपाल आयल निगमले जनाएको छ ।
‘मंगलबारको निर्णयअनुसार पेट्रोलको खुद्रा मूल्य ५ रुपैया, डिजेल र मटितेलमा २-२ रुपैयाँ बढाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । आजै राति १२ बजे पछि लागू हुने छ ।
खुद्रा मूल्य समायोजनपश्चात् थानकोट, सुर्खेत र दिपायलका लागि पेट्रोल प्रतिलिटर १ सय १, डिजेल ८७ र मटितेल ८७ रुपैयाँ पर्नेछ ।
पोखरा र दाङका लागि पेट्रोल प्रतिलिटर १ सय ५० पैसा, डिजेल ८६ रुपैयाँ ५० पैसा र मटितेल ८६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ । चारआली, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवरी, नेपालगन्ज र धनगढीका लागि पेट्रोल ९९ रुपैयाँ ५० पैसा, डिजेल ८५ रुपैयाँ ५० पैसा र मटितेल ८५ रुपैयाँ ५० पैसा तोकेको जनाएको छ ।
निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखेको प्रवत्ता उपाध्यायले जानकारी दिए ।