अनिश्चितकालीन समयका लागि बन्द भयो दिक्तेल बजार

अनिश्चितकालीन समयका लागि बन्द भयो दिक्तेल बजार

  • मङ्लबार, असार १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

खोटाङ , १६ असार ।चार जनामा कोरोना भाइरस सङ्क्रमण फेला परेपछि उद्योग वाणिज्य सङ्घ खोटाङले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार बन्द गराएको छ ।

सङ्घले दिक्तेल बजारमा सञ्चालित प्रत्येक पसल तथा होटलमा पत्र पठाएर बुधबारदेखि सम्पूर्ण कारोवार बन्द गराएको हो । कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न अत्यावश्यकबाहेकका सम्पूर्ण व्यवसाय बन्द गर्न व्यापारीलाई आग्रह गरिएको सङ्घका महासचिव मनोजकुमार बजिमयले बताउनुभयो । “अत्यावश्यक पर्ने पसल बिहान ६ बजेदेखि ९ बजेसम्म दैनिक तीन घण्टा खुला गरिनेछ”, उहाँले भन्नुभयो, “अत्यावश्यकबाहेक बाँकी सबै प्रकारका पसल तथा व्यवसाय अनिश्चितकालका लागि बन्द गरिएको हो ।”

जिल्लामा सञ्चालित औषधि पसल भने चौबीसै घण्टा खुला राख्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक शालिग्राम शर्मा पौडेलले बताउनुभयो । औषधि पसलमा समेत सामाजिक दूरी कायम गरेरमात्र सेवा लिन र दिने व्यवस्था गर्न अनुरोध गरिएको छ ।

यसैबीच, कोरोना सङ्क्रमित भेटिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केहि क्षेत्र सिल गरिएको छ । भारतबाट आएका १८ वर्षीय युवक र साउदी अरबबाट आएका ३८ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अल्छेढुङ्गा हुँदै बेँसीटोल तथा नेर्पा जाने बाटोमा पर्ने डाँडागाउँदेखि सोल्माको साकेलाथानसम्मको दायाँबायाँ १०० मिटर क्षेत्र सिल गरिएको हो ।

अर्को व्यवस्था नभइञ्जेलसम्मका लागि सिल गरिएको क्षेत्रमा प्रवेश गर्न तथा बाहिरिन पूर्णरुपमा रोक लगाइएको प्रजिअ पौडेलले बताउनुभयो । साउदीमा पिसिआर परीक्षण गरेर आएका ३८ वर्षीय सङ्क्रमित पुरुष पाँच दिन दिक्तेलमा निर्माण गरिएको क्वारेन्टिन बसेर घर गएपछि गाउँका साथीभाइसँग घुलमेल भएका कारण उनको सम्पर्कमा आएका व्यक्तिको पिसिआर रिपोर्ट नआएसम्मका लागि उक्त क्षेत्र सिल गर्नुपरेको हो ।

दश स्थानीय तह रहेको जिल्लामा हालसम्म नौ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये चार जना उपचारपछि घर फर्किएका छन् भने, पाँच जनालाई उपचारमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ