महेन्द्रनगर बन्ने भयो आधुनिक सहर, एक सातापछि ठूलो लगानीका सडकहरू निर्माण सुरु

महेन्द्रनगर बन्ने भयो आधुनिक सहर, एक सातापछि ठूलो लगानीका सडकहरू निर्माण सुरु

  • शनिबार, असार १३, २०७७
  •  डम्मर राज भट्ट

  • 11.9K
    SHARES

कन्चनपुर, १३ असार । कन्चनपुरको महेन्द्रनगर बजारका पाँचवटै गल्लीमा नाली सहितका पक्की सडक निर्माण सुरु गरिने भएको छ । कोरोना महामारीका कारण ठेक्का केही समयपछि धकेलिएको भए पनि निर्माण असार तेस्रो सातादेखि सुरु हुन लागेको हो । कन्चनपुरको भीमदत्त नगरपालिकामा बसेको बैठकमा निर्धारित समयभित्र निर्माण पूरा गरी कार्य सुरु गर्ने निर्णय गरिएको छ । महेन्द्रनगर बजारलाई आधुनिक सहरका रुपमा विकास गर्ने लक्ष्यका साथ क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत बजारका सबै गल्लीमा नाली सहितका सडक बनाउन लागिएका हुन् ।

त्यसका लागि गत वर्ष एक अर्ब ७६ करोडको टेण्डर आव्हान गरिएको थियो । भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले महेन्द्रनगर बजारलाई व्यवस्थित र आधुनिक बनाउन नाली सहित ठूलो लगानीमा पक्की सडक निर्माण सुरु गर्न लागिएको बताए । ‘कोरोाना महामारीका कारण केही ढिलो भएको छ, ठेक्का बन्दोवस्ती भई सकेको छ, क्षेत्रीय सहरी विकास आयोजना सहितको बैठकबाट निर्धारित समयभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण सुरु गर्ने निर्णय भएको छ’ उनले भने,‘त्यसका आधारमा कार्य सुरु भएर समयमा सम्पन्न हुन्छ ।’ बजारका पाँचवटै गल्लीमा १३ दशमलव ८५ किलोमिटर नाली सहित सडक निर्माण गर्ने योजना छ ।

क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत भीमदत्त नगरपालिकामा ३५ किलोमिटर नाली सहित पक्की सडक निर्माण गरिनेछ । त्यसमध्ये पहिलो चरणमा बजार क्षेत्रमा सडक बनाउन लागिएको हो । ‘पहिलो चरणमा पाँच ओटै गल्लीमा नाली सहित उच्च गुणस्तरीय सडक बनाउन लागेको छौ, त्यसपछि अरु सडक पनि बनाउँछौ’ मेयर विष्टले भने । भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले पहिलो नगर सभाबाटै महेन्द्रनगर बजारलाई व्यवस्थित र सुदूरपश्चिमको नमूना सहर बनाउने निर्णय गरेका थिए । महेन्द्रनगर सुदूरपश्चिम प्रदेशमा गुरु योजनाद्वारा निर्माण गरिएको व्यवस्थित सहर हो । नाली सहितका पक्की सडकका लागि सबै पूराना सडक भत्काइने भएका छन् ।

सडक निर्माणसंगै फुटपाथ समेत हटाइने भएको छ । नगरपालिकाका अनुसार सबै सडक ७ दशमलव ५० मिटर चौडा आधुनिक कालोपत्रे गरिनेछ । ‘अहिले हामीले बनाएका सडकको स्तरभन्दा कैयौँ गुणा अब बन्ने सडक गुणस्तरीय हुने छन्,त्यसमा प्रतिकिलोमिटरमा ठूलो लगानी हुन्छ’ मेयर विष्टले भने । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्टले चरण अन्तर्गत बनाइने सडक प्रभावकारी भएसँगै नगरका अन्य ग्रामीण भेग जोड्ने सडक समेत निर्माण गरिने बताए । ‘महेन्द्रनगर बजार चिटिक्क बनेसँगै भारतीय पर्यटकका लागि नेपाल थप पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ’ उनले भने । पश्चिमी सीमा नाकाको सहर महेन्द्रनगर भारतको राजधानी दिल्लीदेखि झण्डै तीन सय ५० किलोटिर दूरीमा छ । महेन्द्रनगरमा गत वर्ष आधुनिक वसपार्क निर्माण गरी सञ्चालमा आएको छ ।

भीमदत्त नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण, सडक निर्माण लगायतका योजना छन् ।

भीनपाका मेयर विष्टको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा नगर उप प्रमुख सुशीला चन्द सिंह, भीनपाका प्रमुख प्रशासकीय अधिकृत पुस्कार प्रसाद भट्ट, क्षेत्रीय सहरी विकास आयोजना आयोजना कार्यान्वयन ईकाईका प्रमुख परिक्षित कडरिया, लगायत परामर्शदाता, निर्माण व्यवसायी, प्राविधिक लगायतका सहभागी भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ