भारतीय अवरोधले २० ट्रक अलैँची र चिया मेचीपुलमा अलपत्र

भारतीय अवरोधले २० ट्रक अलैँची र चिया मेचीपुलमा अलपत्र

  • आइतवार, असार ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

पूर्वी नाका काँकडभिट्टाबाट भारत निर्यातका लागि पठाइएको २० ट्रक नेपाली चिया र अलैँची मेची पुलमा चार दिनदेखि अलपत्र छ । मेची भन्सार कार्यालयका प्रमुख ध्रुवकुमार विश्वकर्माका अनुसार भारतीय सीमामा तैनाथ पश्चिम बङ्गाल प्रहरी र अर्धसैन्य बल एसएसबीको अवरोधका कारण नेपाली ट्रक बिहीबारदेखि मेची पुलमै रोकिएका हुन् ।

रोकिएका ट्रकमा नेपाली कृषि उत्पादन चिया र अलैँची छन् । ती वस्तु भारतको सिलगढी पठाइएको नेपाली व्यापारीले बताएका छन् । कोरोना महामारीको अवस्थामा समेत काँकडभिट्टा नाका खुला रहँदै आएको छ । भारतबाट जुनसुकै सामान पनि नेपाली नाका पार गरेर आउने गरेका छन् । तर भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले कोरोनाको बहानामा सीमावर्ती पानीट्याङ्की नाकामा नेपाली सामानलाई एकतर्फीरुपमा रोक्दै आएको छ ।

पानीट्याङ्की भन्सार कार्यालयमा सम्पर्क गर्दा भारतको केन्द्रीय सरकारबाट नेपाली सामानलाई कुनै रोक लगाइएको छैन भन्ने जानकारी आएको जनाउँदै मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्मा भन्नुहुन्छ, “तर नेपाली सामान लोड भएका गाडीलाई भारतीय भन्सार पुग्नुअगावै त्यहाँको पुलिस र एसएसबीले रोक्ने गरेको छ ।”

गत बिहीबार नेपालबाट कृषिवस्तु बोकेका २३ गाडी भारततर्फ गएका थिए । जसमध्ये दुई गाडी अलैँची र एक गाडी अम्लिसो भने भारतीय प्रहरीले लैजान दिएको छ । लामो अवधिदेखि मेची पुलमा अलैँची र चिया जस्ता मूल्यवान बस्तु अलपत्र अवस्थामा रहँदा सुरक्षाको समेत चिन्ता थपिएको छ । गाडीका चालकले पुलमै रातदिन बिताएर सामान र ट्रकको सुरक्षा गरिरहेका छन् ।

नेपाल अलँैची व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराईले प्रत्येक ट्रकमा रु डेढ करोडभन्दा बढी मूल्यको अलैँची लोड गरिएको जानकारी दिनुभयो । उहाँले समस्याको समाधानबारेमा केन्द्रीय सरकार र प्रदेश सरकारको विभागीय मन्त्रीको ध्यानाकर्षण गराइएको बताउनुभयो ।

नाकामा अवरोध नगर्न नेपालका तर्फबाट मन्त्रालय तहबाट पठाइएका पत्रको भारतले जवाफ नपठाएको महासचिव भट्टराईले बताउनुभयो । अबको विकल्प भने भारतको जोगवनी नाका हुनसक्ने भट्टराईको भनाइ छ । पश्चिम बङ्गाल सरकारले नाकामा अवरोध गरेको हुँदा विहारको नाका जोगवनी प्रयोग गर्न सकिने सम्भावना छ । तर सामानको कोलकातामा प्रयोगशाला जाँच भएर रिपोर्ट पानीट्याङ्की नाकामा आइसकेको हुँदा फेरि जोगवनी नाका प्रयोग गर्दा दोहो¥याएर प्रयोगशाला जाँच गर्नुपर्ने झण्झट हुने उहाँको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ