प्रदेश नं १ को बजेट माथिको छलफल सम्पन्न

प्रदेश नं १ को बजेट माथिको छलफल सम्पन्न

  • बिहिबार, असार ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

विराटनगर, ४ असार। प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०७७÷७८ का लागि राजश्व, आय र व्यय’को वार्षिक अनुमान माथिको छलफलमा सदस्यले बोल्ने क्रम सकिएको छ ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री आङबोले बजेटले प्रदेश समृद्धिको आधार तयार हुने बताउनुभयो । उहाँले बजेट एक राजनीतिक दस्तावेज भएको उल्लेख गर्दै निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम चालु खर्चमै राखिएकाले यस शीर्षकमा रकम बढी देखिनु स्वभाविक हो भन्नुभयो ।

मन्त्री आङबोले कृषिमा उत्पादन बढाउन, भण्डारण र बजारीकरणको दायित्व सरकारले लिएको र यसैको माध्यमबाट स्वरोजगारी सिर्जना गर्न सरकार तयार रहेको बताउँदै विदेशबाट फर्कने युवाहरुलाई कृषि क्षेत्रमा स्वरोजगार बनाउने योजना बजेटले लिएको स्पष्ट पार्नुभयो । उत्पादन किसानको र बजार मूल्य सरकारको समाजवादी कार्यक्रम हो भन्दै उहाँले सरकार सिँचाइ, वैकल्पिक ऊर्जा, पर्यटन र निर्माण क्षेत्रमा रोजगारी सिर्जना गर्न पर्याप्त बजेट विनियोजन गरेको छ भन्नुभयो ।

ठूला पूर्वाधार निर्माण गर्नुपर्ने तथा प्राथमिकतामा रहेका पुरानो योजनालाई निरन्तरता दिनुपर्ने कारणले बजेटको आकार ठूलो भएको चर्चा गर्दै उहाँले सरकार कोरोना उपचार, रोकथाम र नियन्त्रण गर्न बजेटको व्यवस्था गरेको छ भन्नुभयो ।

यसअघि बजेट छलफलमा भाग लिदैं प्रदेशसभा सदस्य सूर्यमाराज राईले स्वर्गीय मदन भण्डारीको उचाइ र सम्मानलाई कम गर्न नहुने बताउनुभयो । सदस्य केदार कार्कीले बजेट मजदुर र सर्वहाराहरुका लागि नभएको टिप्पणी गर्नुभयो । सदस्य जयराम यादवले कोरोनाको महामारीका समयमा आएको यो बजेट कार्यान्वयनमा समस्या आउन नदिन सरकार गम्भीर बन्नुपर्छ भन्नुभयो । सदस्य नवोदिता कुमारी चौधरीले कोरोना सङ्क्रमितको उपचारका लागि सरकारले १०० शय्याको छुट्टै अस्पताल निर्माण गर्न बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । सदस्य बलबहादुर साम्सुहाङले आर्थिक सर्वेक्षण गरेर ल्याएको यो बजेट घाटा बजेट हो र यो घाटा उठाउन सरकारले राजश्व असुल गर्न व्यापक छलफल गर्नुपर्ने जरुरी छ भन्नुभयो । सदस्य राजेन्द्रकुमार राईले हाम्रो आम्दानीले चालु खर्च पनि धान्न मुस्किल पर्ने भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । सदस्य लक्ष्मण तिवारीले सारमा बजेट राम्रो छ र प्रदेश सरकारलाई आउने अनुदान घट्न जानुमा बहस हुनुपर्छ भन्नुभयो । सदस्य निलम बस्नेतले लक्षित राजश्व उठाउन प्रशासनलाई चुस्त र दुरुस्त बनाउनुपर्नेमा जोड दिनुभयो । सदस्य लोकप्रसाद सङ्ग्रौलाले बजेटको समीकरण आन्तरिक आय, अनुदान र राजश्वबाट बनेको यो बजेटले स्रोतहरुको खोजीमा ध्यान नदिएको टिप्पणी गर्नुभयो । सदस्य शिवनारायण गनगाँईले बजेटको अङ्क ठूलो बनाएर यसको सफलता नहुने तर्क गर्दै बजेटमा आर्थिक वृद्धि दर कति हुने हो प्रष्ट छैन भन्नुभयो । सदस्य हिमाल कार्कीले यथार्थमा बजेटले सरकारको खर्च क्षमतामा प्रश्न उठाएकाले यसमा गम्भीर बन्न आग्रह गर्नुभयो । सदस्य हिराकुमार थापाले दक्ष जनशक्तिको अभावमा सरकारले बजेट खर्च कम भएकाले सरकार दक्ष जनशक्ति निर्माणमा लाग्नुपर्ने प्रतिक्रिया दिनुभयो ।

युवालाई स्वदेश ल्याउन माग
प्रदेश सभाको आजको बैठकको शून्य समयमा सदस्य कृष्णकुमारी राईले विदेशमा कार्यरत ४० लाख युवायुवतीमा १६ लाख युवायुवती घर फर्कन चाहेकाले उनीहरुलाई स्वदेश ल्याउन सवै प्रदेशका सरकारले सामूहिक रुपमा सङ्घीय सरकारसँग माग गर्नुपर्ने बताउनुुभयो ।

अर्का सदस्य लीला सुब्बाले धनकुटामा ५०० कैदी अट्ने क्षमताको कारागार बनाउने भनिए पनि बजेट विनियोजन नभएको र कारागार बन्ने स्थानमा बसोबास गरेका मानिसहरुलाई उचित बासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

प्रदेशसभाको अर्को बैठक शुक्रबार बिहान ११ः३० बजे बस्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ