काठमाडौं, असार ३ । सरकारले घरायसी ग्राहकका लागि विद्युतको महशूल घटाएको छ । ५ एम्पियरको लाइन लिएर न्यूनतम मासिक १० युनिटसम्म खपत गर्ने ग्राहकले ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क तिर्नुपर्ने छ । उनीहरुले विजुलीको शुल्क तिर्नुपर्ने छैन ।
यही असार महिनादेखि लागू हुने गरी यो महशूल दर तोकिएको विद्युत नियमन आयोगले जनाएको छ । ५ एम्पियरको सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ र प्रतियुनिट शुल्क ३ रुपैयाँ तिर्नुपर्ने छ ।
२१ देखि ३० युनिटसम्म खपत गर्नेले ५० रुपैयाँ डिमान्ड शुल्क र ६।५० रुपैयाँ प्रतियुनिट विद्युत महशूल तिर्नुपर्नेछ । ३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ५० रुपैयाँ डिमान्ड शुल्क र ८ रुपैयाँ प्रतियुनिट महशूल तिर्नुपर्ने छ ।
५१ देखि १०० युनिटसम्म खपत गर्दा ७५ रुपैयाँ डिमान्ड शुल्क र ९।५ रुपैयाँ प्रतियुनिट महशूल तिर्नुपर्ने छ । १०१ देखि १५० युनिटसम्म खपत गरेमा घरेलु ग्राहकले १०० रुपैयाँ डिमान्ड शुल्क र ९।५० रुपैयाँ प्रतियुनिट शुल्क तिर्नुपर्ने छ ।
त्यसैगरी १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहकका लागि १२५ रुपैयाँ डिमान्ड शुल्क र १० रुपैयाँ प्रतियुनिट महशूल तोकिएको छ । २५१ देखि ४०० युनिटसम्म खपत गर्दा १५० रुपैयाँ डिमान्ड शुल्क र ११ रुपैयाँ प्रतियुनिट दर तोकिएको छ ।
४०० युनिटभन्दा माथि विजुली खपत गर्ने घरासयी ग्राहकले १५० रुपैयाँ डिमान्ड शुल्कसहित १२ रुपैयाँ प्रतियूनिट तिर्नुपर्ने छ ।
आयोगले घरायसी ग्राहकको लागि १५, ३० र ६० एम्पियरसम्म विजुली लाइन लिँदा पनि खपतका आधारममा फरकरफरक दर तोकेको छ ।
