पर्सा २६ जेठ । लकडाउनको बेला सर्वसाधारणहरुलाई खान धौ–धौ परेको बेला वीरगंज आदर्शनगर स्थित कर्पोरेट डेभलपमेन्ट बैंकले सेवाग्राहीहरुबाट जबरजस्ती व्याज तथा किस्ता वापतको रकम असुली गरि रहेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । विभिन्न व्यापार, व्यावसाय संचालन गर्न, गाडी किन्न तथा तथा घर निर्माणका लागि कर्जा लिएका व्यक्तिहरुसँग लकडाउनको बेला पनि बैंकले जबरजस्ती व्याज तथा किस्ता असुली गरि रहेको बताइएको छ ।
कोरोना संक्रमणको कारण विश्व आक्रान्त बनि रहेको अवस्थामा बैंकहरुलाई पनि आफ्नो व्यापार संचालन गर्न नै तल्लिन छन् । कोरोना संक्रमण नियन्त्रणका लागि करिब तीन महिनादेखि नेपाल लकडाउन रहेको अवस्थामा सर्वसाधारणको त कुरै छाडौं हुने खानेहरुको पनि ढाँड भाँच्चिएको छ, व्यापारीहरुको व्यापार संचालन नभएर आर्थिक अवस्था नै तहस नहस बनेको छ । यस अवस्थामा पनि वीरगंजका बैंकहरुले सेवाग्राहीहरुसँग किस्ता वापतको रकम असुली गर्न तल्लिन् छन् ।
लकडाउनका कारण दैनिक जीवन यापन गर्नमा पनि समस्या भईरहेको बेला उक्त बैंकले लकडाउन खुलि सकेको भनेर किस्ता बुझाई दिन सेवाग्राहीहरुलाई दबाब दिदै किस्ता असुली रहेको छ । लकडाउन अवधिभरिको कर तथा बैंक व्याज, किस्ता मिनहा गर्न चौतर्फि माग भइरहेको बेला नेपाल सरकारले यो मागलाई सम्बोधन गर्नुभन्दा पनि बाँकी महिनाको कस्तिा व्याज असुली गरिसक्नुपर्ने दाउमा कर्पोरेट बैंकले काम गरि रहेको अवस्था छ । बैंकका कर्मचारीहरुले सेवाग्राहीहरुलाई दिनहुँ फोन गरेर किस्ता बुझाई दिनु निरन्तर दबाब दिदै आएका छन् ।

वर्तमान अवस्थामा एक दिनको खाना पुगे अर्को दिनको लागि जुटाउन सोच्नुपर्ने अवस्थामा बैंकको किस्ता बुझाउनुपर्ने दबाबले गर्दा सेवाग्राहीहरु आर्थिक तनावको साथसाथै मानसिक तनाव पनि खेप्न बाध्य छन् । तीन महिनाको लकडाउन अवधिबारे नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले कुनै ठोस निर्णय गर्न नसकेको कारण यसको प्रत्यक्ष चपेटामा सर्वसाधारणहरु पिल्सि रहेका छन् ।
विगत चैत, वैशाख दुई महिनासम्म बैंकहरुले किस्ता तथा व्याज बुझाउनेबारे खासै दबाब नदिएपनि नेपाल सरकार आर्थिक मन्त्रालय राजस्व विभागले जेठ २५ गतेसम्म कर विवरण र सम्पूर्ण कर बुझाई सक्नुपर्ने सूचना जारी गरेसँगै बैंकहरुले पनि व्याज तथा किस्ता बुझाउन सेवाग्राहीहरुलाई तनाव दिन थालेका छन् ।