लकडाउन अवधिमा पनि पूर्वाधार विकासका कामलाई निरन्तरता दिदैँ काठमाडौँ महानगरपालिका

लकडाउन अवधिमा पनि पूर्वाधार विकासका कामलाई निरन्तरता दिदैँ काठमाडौँ महानगरपालिका

  • बिहिबार, जेष्ठ २२, २०७७
  • नृपेन्द्रलाल श्रेष्ठ

  • 6.9K
    SHARES

काठमाडौं, २२ जेठ । लकडाउनका बीचमा पनि काठमाडौँ महानगरपालिकाले विकास निर्माण र पूर्वाधारका कामलाई निरन्तरता दिएको छ । काठमाडौँ महानगरपालिका शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले बन्दाबन्दीको समयमा पनि आकाशे पुल निर्माणसँगै अन्य भौतिक पूर्वाधारका काम अघि बढिरहेको जानकारी दिनुभयो । ‘केही दिन अघि मात्रै वडा–८ को जयबागेश्वरीमा सार्न मिल्ने आकाशे पुलको शिलान्यास भएको छ,’ थापाले भन्नुभयो, ‘माइतीघर नजिकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छेउको निर्माणधिन आकाशे पुल करीब–करीब निर्माण सम्पन्न हुने क्रममा छ । बन्दाबन्दीमा समेत कामलाई निरन्तरता दिएर सकेसम्म असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने तयारी छ ।’
उहाँले जयबागेश्वरीमा केही दिन अघि मात्रै शिलान्यास गरेको पुल निर्माणको कामलाई पनि निरन्तरता दिने बताउनुभयो । ‘जयबागेश्वरीको पुल दशैँ भित्र सम्पन्न गर्ने लक्ष्य लिएका छौँ,’ उहाँले भन्नुभयो, ‘चावहिलको पुल निर्माणको काम निरन्तर अघि बढिरहेको छ ।’
जयबागेश्वरीको सार्न मिल्ने आकाशे पुलको शिलान्यास संघीय सांसद् गगनकुमार थापाले गर्नुभएको थियो । शिलान्यास कार्यक्रममा प्रदेश सांसद नरोत्तम बैद्यलगायत सहभागी हुनुहुन्थ्यो । महानगरपालिकाका काममा संघीय र प्रदेश सांसदहरुले समेत सहभागिता जनाउँदा विकास निर्माणका कामलाई दू्रततर गतिमा अघि बढाउन थप सहज हुने महानगरपालिकाको बुझाई छ ।
‘आर्थिक वर्ष २०७६÷०७७ मा महानगरपालिका क्षेत्र भित्रका विभिन्न ६ स्थानमा सार्न मिल्ने आकाशे पुल निर्माण गर्ने योजना बनाएका थियौँ,’ थापाले भन्नुभयो, ‘सोही अनुरुप अहिले चावहिल, जयबागेश्वरी र माइतीघर नजिक यस्ता पुल निर्माणको काम अघि बढाएका छौँ ।’
उहाँले एक करोडको हाराहारीमा निर्माण हुँदै गरेको माइतीघर नजिकको पुल सकेसम्म असार मसान्ता भित्र सम्पन्न गर्ने गरी काम अघि बढाएको बताउनुभयो । ८२ लाख ६६ हजारमा निर्माण हुँदै गरेको चावहिलको पुल निर्माणको काम पनि अघि बढेको उहाँले जानकारी दिनुभयो । ‘जयबागेश्वरीको पुल बन्दाबन्दीकै बेलामा समेत काम गरेर आउँदो ४ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ,’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा पैदल यात्रुको सुरक्षा र सहरी सवारी आवागमनलाई सहज बनाउन काठमाडौँ महानगरपालिकाले यात्रुको धेरै चाप हुने ठाउँहरुमा पैदल यात्रुका लागि क्रमशः आकाशे पुल निर्माण गर्दै जाने नीति लिएको छ ।’ जयबागेश्वरीको पुल भ्याटबाहेक ६४ लाख ९९ हजारको लागतमा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाएको हो ।
यहि आर्थिक वर्षमा कम्तीमा ६ स्थानमा अकाशेपुल निर्माण गर्ने योजना भए पनि विभिन्न कारणले तीन ओटा मात्रै अघि बढेको बताउनुभयो । ‘हामीले यही आर्थिक वर्षमा चावहिल, जयबागेश्वरी, सिंहदरबार अघि, नयाँ बानेश्र, कोटेश्वरलगायतका स्थानमा यस्ता पुल निर्माण गर्ने योजना बनाएका थियौँ,’ उहाँले भन्नुभयो, ‘तर, नयाँ बानेश्वर र कोटेश्वरमा सडक विभागले निर्माण गर्ने भनेकाले अन्य ठाउँको पहिचान गरिरहेका छौँ । कम्तीमा १० स्थानमा यस्ता पुल निर्माण गर्ने महानगरपालिकाको योजना छ ।’
उहाँले विभिन्न वडाका काम पनि लकडाउनका बेलामा समेत सामाजिक दूरी कायम गर्दै र सुरक्षाका उपायहरु अपनाएर अघि बढाएको बताउनुभयो । ‘७, १०, ११, १२, १३, १४,१६ लगायतका वडामा कालोपत्रे गर्ने बाहेक व्लक छाप्ने, ढलान गर्ने, ढल निर्माण गर्ने, वडा कार्यालय भवन निर्माण गर्ने जस्ता भौतिक पूर्वाधारका कामलाई निरन्तरता दिएका छौँ,’ उहाँले भन्नुभयो, ‘कालोपत्रे गर्ने श्रमिकहरु बढी मात्रामा तराइतिरका हुने भएकाले उनीहरु आउन नपाएका कारण कालोपत्रे गर्ने काम भने अघि बढाउन सकेका छैनौँ ।’
करीब २ सय करोडका आयोजनाहरु चालु अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । ‘गत वर्षका आयोजना सम्पन्न गर्ने र चालु आर्थिक वर्षका कामलाई पनि निरन्तरता दिने योजना छ,’ उहाँले भन्नुभयो, ‘विश्वभरी फैलिएको कोरोना संक्रमण र त्यसका कारण मुलुकमा जारी लकडाउनले गर्दा पनि कतिपय काम अघि बढाउन केही कठिनाई भैरहेको छ । तर, पनि कतिपय काम हामीले अघि बढाएका छौँ ।’
उहाँले महानगरपालिका क्षेत्र भित्रका सामूदायिक विद्यालयमा एकै प्रकारको रंगरोगन गर्नेलगायतका कामलाई पनि बन्दाबन्दीका बेला समेत निरन्तरता दिएको जानकारी दिनुभयो ।
महानगरपालिकाले सामुदायिक विद्यालय भित्रका खुला स्थानहरुलाई धुलोमुक्त बनाउने, फलफुलका विरुवा रोप्ने, लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय निर्माण गर्ने, शुद्ध पिउने पानीको व्यवस्था गर्ने, खुला क्षेत्रमा पानी पुनर्भरण ९रिचार्ज० कार्यक्रम, फोहोरमैला राख्ने भाँडोको प्रवन्ध गर्ने, सबै विद्यालयमा बालमैत्री चित्र र महावाणी लेख्ने एवं एउटै रंग लगाउने कार्यक्रम सञ्चालन गर्ने जस्ता नीति लिएको छ ।
काठमाडौँ महानगरपालिकाले जिवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २०७७ जारी गरिसकेको छ । बन्दाबन्दीको अवस्था लम्विदै गएको खण्डमा श्रममा आधारित पारिश्रमिकको व्यवस्थाका लागि कार्यविधि नै जारी गरेको महानगरपालिकाले त्यस्ता श्रमिकहरुलाई सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत–सम्हार, ढल निर्माण तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण र सौदर्यीकरण, फाहोर–मैला व्यवस्थापन जस्ता काममा लगाउने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ