काठमाडौं, १५ जेठ । सरकारले आज आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण (बजेट भाषण) बजेट प्रस्तुत गर्दै छ । सङ्घीय संसद्को दुवै सदनको अपरान्ह ४ बजे बस्ने संयुक्त बैठकमाअर्थमन्त्री डा. युवराज खतिवडाले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन् ।
नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।
वजेटमा सरकारले कृषि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिएको छ । अर्थमन्त्री खतिवडाले उच्च अंकको आर्थिक वृद्धिको लक्ष्यसहित आगामी अर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन् ।
विश्वव्यापी कोरोना महामारीबाट मुलुकको अर्थतन्त्र संकटग्रस्त भएको विषम परिस्थितिमा बजेटले कोरोनाबाट थिलथिलो परेको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र रोजगारीलाई प्राथमिकता दिने बताइएको छ ।
चालू आर्थिक वर्षको १५ खर्ब ३२ अर्बको बजेटमा सामान्य वृद्धि गर्दै बजेट ल्याउन लागेको बताइएको छ ।
कोरोनाको संक्रमण फैलनुअघि राष्ट्रिय योजना आयोगले १७ खर्ब रुपैयाँको बजेटको सिलिङ तोकेको थियो ।
सोही अंकका आधारमा सबै मन्त्रालयलाई छुट्टाछुट्टै सीमा पठाएपनि कोरोनापछिको परिस्थितिमा ५ प्रतिशत कम गरी बजेट प्रस्ताव गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको थियो ।
२ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारीसहित बजेट ल्याउन लागेको हो ।
अर्थमन्त्री भएलगत्तै श्वेतपत्र निकालेर अर्थतन्त्रको कहालीलाग्दो अवस्थाको चित्रण गरेका डा।युवराज खतिवडाले आज सार्वजनिक गर्ने बजेट तेस्रो बजेट हो भने दोस्रो पटक अर्थमन्त्री भएपछिको पहिलो बजेट हो ।
खतिवडाले पहिलो बजेट १३ खर्ब १५ अर्ब रुपैयाँको ल्याएका थिए भने चालू आर्थिक वर्षका लागि ल्याइएको दोस्रो बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँको थियो ।
यसैबीच आज संसदमा प्रस्तुत हुने बजेटको आगामी आइतबारबाट सैद्धान्तिक छलफल हुने बताइएको छ ।
२ दिन सैद्धान्तिक छलफल गरेलगत्तै कार्यविधि छोट्याएर २१ र २२ गते मन्त्रालयगत छलफल गरेर जेठ २६ गते बजेट पारित गर्ने संसद सचिवालयले तयारी गरेको छ ।