कञ्चनपुर, १३ जेठ । कोरोना रोकथामका लागि गत चैत्र १०देखि नेपाल भारत सीमा क्षेत्र बन्द र लकडाउन गरिएको थियो । लकडाउनकै विच पाँच दिनसम्म कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट एक हजार १ सय ८८ जनाले प्रवेस गरेका थिए । १९ चैत्रदेखि उक्त नाका सहित जिल्लाभरी पूर्णसिल भएको थियो । गड्डाचौकी नाका ५४ दिनपछि पहिलो दिन खुलेसंगै अढाई हजार बढिले नेपाल प्रवेस गरेका छन् । एकैदिन ६ घण्टाको अवधिमा दुई हजार ७ सय ५४ जना नेपालीले स्वदेश प्रवेस गरेका छन् ।
जिल्ला सुरक्षा समिति कञ्चनपुरको आईतबारको बैठकले भारतबाट अलपत्र परेका नेपाली नागरिकलाई सोमबारदेखि पश्चिम नाका कञ्चनपुरको गड्डाचौकीबाट प्रवेस गराउने निर्णय अनुरुप धमाधम नेपाली सीमा क्षेत्रमा पुगिरहेका हुन् । गुजारा चलाउन नालाबाला सहित भारत पसेका अलपत्र परेका नेपाली मातृभूमि टेक्न लागेका थिए ।
सोमबार साँझ ६ बजेसम्ममा अढाई हजार बढि नेपाली नागरिक सीमा क्षेत्रमा पुगेका छन् । सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति बीरसिह शाहुले दिउँसो १२ देखि साँझा ६ बजेसम्म ६ घण्टाको अवधिमा कञ्चनपुर सहित ६ सुदूरका पहाडी जिल्ला, कर्णाली र ५ नम्बर प्रदेशका अधिकाँस स्थानीय नेपाल भित्रिएको बताए । साँझ ६ बजेसम्म बनबासा भएर गड्डाचौकी पुगेकालाई एकमुष्ठ सम्बन्धी जिल्ला र पालिकामा पठाईने उनले बताए । ‘सीमा क्षेत्रमा पुगेकाको स्वास्थ्य परीक्षण गरि सकेका छौँ, ‘उनले भने, ‘कसैलाई ज्वरो बढि देखिए त्यही आरडिटी गर्ने, त्यहाँ पोजेटिभ देखिए पिसिआर परीक्षण गर्ने र पिसिआर गछौँ, तर आज कसैलाई पनि देखिएन ।’ उनीहरुलाई सम्बन्धीत जिल्ला र पालिकामा पठाउन शुरु गरिएकोछ ।

सीमा क्षेत्र पुगेका नेपाली हरिविजोग अवस्थामा पुगेका छन् । उनीहरु भारतबाट पैदलै भोकभोकै र नहरको फोहोर पानी पिएर नेपाल पुगेका हुन् । मातृभूमि पुग्दा युद्ध नै जितेर आए जस्तो लागेको उनीहरुले अनुभव पोखेका छन् । बिन्दाशैनी नगरपालिका १ दैलेखका बालाराम आचार्य लुवाघाटबाट मजदुरुरी गरि पैदले टनकपुर पुगेका थिए ।‘उताबाट हामी भोकभोकै पैदल टनकपुर पुगे, ‘उनले भने, ‘भारतले त्यहाँ हामीलाई क्वारेन्टाईनमा राख्यो, क्वारेन्टाईनको बसाई पनि राम्रो थिएन, अहिले उद्दार भएपनि खुसीको सीमा नै छैन् ।’
महिलाहरुले कोखमा साना साना बालबालिका बोकेर आएका छन् । भारतको बागेश्वरमा मजदुरी गर्दै आएका भगवती जिसीसंग तीन बर्षिया सानो बालक छन् । ति बालक उनका छोरा हुन् । ‘गुजारा चलाउन सन्तान लिएर ६ महिना अघि भारत पसेको थिए, ‘उनले भनिन, ‘लकडाउनका कारण काम बन्द भएपछि स्वदेश फर्किए ।’ सात दिन हिडेरै बनबासा पुगेको बताउदै उनले नेपाल पुग्दा खुसी व्यक्त गरिन् ।
एकातिर सानो सन्तानको स्याहारसुहार अर्कोतिर रोगसंग लडेर हिड्नुपर्ने र त्यसमा पनि भारतीय प्रहरीको अबरोध छिचोक्दै उनी बनबासा पुगेकी थिईन् । बनबासा पुग्दा पानी नपाएरै नहरको पानी खान बाध्य भएको उनको दुखेसो छ । भगवती जिसी जस्तै महिला पनि नालाबाला सहित सकसका विच मातृभूमि पुगेका छन् । पुरुष भन्दा सीमा क्षेत्र नेपाल पुगेका महिलाको ह्दयविदारक कथा थियो ।

भीमदत्त नगरका नगर प्रमुख सुरेन्द विष्टले कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकी पुगेका सम्पूर्ण नेपालीहरूलाई खाना खुवाएर आजै सम्बन्धीत पालिका र जिल्लामा पठाईएको बताए । सोमबार दिउँसो १२ देखि ६ बजेसम्म नाका खुलेर ल्याउने र मंगलबार बिहान ८ देखि १० र साँझ ५ देखि ७ बजेसम्म अलपत्र नेपालीलाई भित्र्राईनेछ । सिजनल कामका लागि नालाबाला सहित भारत पसेका नेपाली बोजाबाजी सहित आएका छन् ।
भारतबाट फर्किएका नेपाली नागरिकको भीमदत्त नगरपालिका, निड्स नेपाल र महेन्द्रनगरका युवा व्यवसायीले खाना, पानी, मास्कको व्यवस्थापन गरेका छन् । भीमदत्त नगरपालिकासंगको सहकार्यमा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्ल, दिनेश मल्ल, गणेश चटौत, उमेश सुनुवार, राज कुमार शर्मा, बृज चन्द, राहुल भट्ट, दिपेन्द्र साउद, शुशिल श्रेष्ठ, अशोक पाण्डेय, धिरज जोशी, महेश जोशी, बल बहादुर खडाकाको आयोजना र पत्रकार लक्ष्मण तिवारी, शेर बहादुर सिहको पहलमा खान खुवाउने काम भईरहेको छ ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष समेत रहेका पत्रका लक्ष्मण तिवारीले भारतबाट गड्डाचौकी प्रवेस गर्ने र भीमदत्त नगरपालिकाको बैजनाथ र आईसिएच क्वारेन्टाईनमा रहेका नेपालीलाई खाना खुवाउँने बताए । ‘गड्डाचौकी नाका खुलुन्जेलसम्म त्यहाँ खाना खुवाउँछौँ, ‘उनले भने, ‘महामारीका बेला हामी स्थानीयको पहल हो ।’