पर्सा १२, जेठ । वीरगंज स्थित नारायणी अस्पतालको आईसोलेसनमा रहेका कोभिड–१९ का ४३ जना संक्रमित आज बेलुकी निको भई घर गएका छन् ।
दुई जना पत्रकार सहित ४३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले जानकारी दिए । मेडिकल सुपरिटेन्डेन्ट डा। उपाध्यायका अनुसार २ महिला सहित ४३ जना कै पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।
नारायणी अस्पतालस्थित पीसीआर ल्याबको रिपोर्ट अनुसार दोस्रो पटक पनि रिपोर्ट नेगेटिभ आएपछि सबैजनालाई डिस्चार्ज गरिएको अस्पतालका चिकित्सक डा। उदय नारायण सिंहले बताए ।
निको हुने संक्रमितहरु सर्लाही, बारा तथा पर्साको बीरगंज, धोबिनी, छिपहरमाईका र एक जना भारतीय रहेका छन् ।
नारायणी अस्पतालको आइसोलेसनमा रहेका सबै संक्रमितहरु डिस्जार्ज भएको पर्साका सहयाक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले वताए ।
दुई पत्रकार सहित ४३ जना कोरोनालाई जितेर घर जाने तयारीमा रहेकाहरुलाई स्वागत एवं सम्मान गर्न पुगेका वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले नारायणीको सबै संक्रमितहरु डिस्चार्ज भएका छन्, अब नारायणीमा पुन जेनरल सेवा सुचारु हुने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि नारायणी अस्पतालको आइसोलेसमा उपचारत रहेका सबै संक्रमितहरु डिस्चार्ज भए पछि बन्द रहेको सबै सेवा सुचारु गर्न निर्देशन समेत दिइसकेकोले तीन दिन भित्र नारायणी अस्पताल पुनः जेनरल अस्पताल हुने बताए ।
यसैगरी वीरगंजकै गण्डक अस्पताल (कोरोना विशेष अस्पताल) मा २७ जना संक्रमित उपचाररत छन् ।
