कन्चनपुर, १२ जेठ । कोरोना भाईरस (कोडिभ १९) को संक्रमणले विश्वभरी प्रभाव परेको छ । कोरोना रोकथाम एव नियन्त्रणका लागि सरकारले १० चैत्रदेखि २० जेठसम्म (बन्दाबन्दी) लकडान गरेको छ ।
लकडाउनका कारण सिङ्गो मानव समुदाय सहित विकास निर्माणका क्षेत्र समेत प्रभावित भएका छन् । कञ्चनपुरको गौरबको योजना महाकाली चार लेनको पुल समेत समयमै नबन्ने देखिएको छ । तीन बर्षमा निर्माण कार्य सक्ने जिम्मा पाएको निर्माण कम्पनीले कोरोना भाईरसका कारण निर्माणकार्य प्रभावित भएको जनाएको छ । भीमदत्त नगरपालिका १२–१३ ओदालीदेखि महाकाली नगरपालिका १ चाँदनी जोड्ने हिसाबले महाकाली नदीमा पुल निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण सेवा प्रालिले कोरोना भाईरसका कारण पुल निर्मा कार्य पछि घकेलिएको बताएका छन् ।
गत १० चैत्रदेखि बैशाख १२ सम्म काम पूर्ण ठप्प भएको महाकाली पुलको काम लकडाउनमा चलेपनि निर्धारित समयमा काम नहुने देखिएको हो । श्रेष्ठ निर्माण सेवा प्रालिका ईन्जिनियर किशोर राज पाण्डेले लकडाउनका कारण पुल निर्माणको कार्य प्रभावित भएको बताए ।

उनका अनुसार समाग्री ढुवानीदेखि मजदुर जनशक्ति अभाजका कारण पुल निर्माणको काम ढिलाई भएको हो । लकडाउनमा काम निर्माणको अनुमति पाएको महाकाली पुल निर्माणमा स्लेप, भरानको काम भईरहेको उनले बताए । ‘यस अघि सबै मालमेट्रियल समयमै पाईन्थो, ‘उनले भने, ‘हामीसंग रहेको ५ सय जनशक्ति मध्ये अहिले जम्मा जम्मी ५०/६० कै हराहारीमा मात्रै छन् ।’
उनका अनुुसार चालु बर्षमा ६० प्रतिशत काम गर्ने लक्ष्य भएपनि लकडाउनका कारण ४८ प्रतिशत मात्रै भौतिक प्रगति भएको बताए । ४२ प्रतिशत भुक्तानी भएको छ । तीन बर्ष भित्र अर्थात आगामी ०७८ जेठ भित्रै निर्माण सक्ने गरि कुल ३ अर्ब २७ करोड ९३ लाख ३४ हजार रुपैया बराबर लागतमा निर्माणको सम्झौता भएको थियो ।
पुलदेखि गड्डाचौकी सम्म चार लेनको ८ किलोमिटर सडक समेत निर्माण हुनेछ भने पुल छेउछाउमा बलियो तटबन्ध निर्माण गरिने छ । महाकाली पुल योजना कार्यालय कञ्चनपुरका ईन्जिनियर दुर्गा अवस्थीले चालु बर्षमा ६० प्रतिशत काम गर्ने लक्ष्य भएपनि हालसम्म ४५ प्रतिशत मात्रै प्रगति भएबको बताए । ‘अहिलेसम्म १० प्रतिशत हामी पछाडी छौँ, ‘उनले भने, ‘समयमै निर्माण हुन नसक्ने भयो ।’ ३२ मध्ये ६ स्लेभ मात्रै निर्माण भएको बताउदै उनले जुन गतिमा काम हुनुपर्नेमा हो, त्यो लकडाउनका कारण हुन नसकेको उनले बताए ।
अहिलेसम्म कम्तिमा ५० प्रतिशत काम सकिएको भएपनि समयमै निर्माण हुने उनको भनाई छ । स्थानीय एव भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष लाल बहादुर शाहीले महाकाली पुल निर्माणको शुरुवातदेखि विभिन्न अवरोध सिर्जना भएको बताए । ‘कहिले भारतले बाहैै महिना पानी छाडन्, ‘उनले भने, ‘हाल लकडाउनका कारण काम अवरोध भएको छ ।’ महाकाली पुल सहित कञ्चनपुरका ४३ योजनाका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कामका लागि अनुमति लिएको छ । पश्चिमी नाकामा महाकाली नदीमा पुल निर्माणसंगै दोधाराचाँदनीमा सुख्खा बन्दरगाहपछि त्रिदेशीय नाका विस्तार गरे आर्थिक विकासको ढोका खुल्ने अपेक्षा गरिएको छ ।