जेष्ठ ७ काठमाण्डौं । नेपालले ३ सय ३५ किलो मिटर क्षेत्रफल भारतले कब्जा गरेको र त्यो फिर्ता गर्ने अठोट सहित राजनीतिक नक्सा काठमाण्डौमा जारी गरेको केही घण्टा पनि बित्न नपाउदै भारतले त्यसलाई नमान्ने चेतावनी दिएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले एकतर्फी रुपमा नक्सा जारी गरेको भन्दै त्यो नमान्ने बताए ।
श्रीवास्तवले नेपालले विस्तार गरेको नक्सा केही भारतीय भूमि समेत समेटिएको र यो कृत्रिम बिस्तारको संज्ञा दिएको छ । नेपालले नक्सा सार्वजनिक गर्दा ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नभएको श्रीवास्तवको जिकिर छ ।
द्धिपक्षीय कुटनीतिक वार्ताको माध्यमबाट समस्याको समाधान गर्ने द्धिपक्षीय समझदारी बिपरीत नक्सा सार्वजनिक गरेको श्रीवास्तवले आरोप लगाए ।
सरकारले आज नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् ।
नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ ।
तर श्रीवास्तवले आरोप लगाए जस्तो नेपाल समझदारी बाहिर गएको देखिदैन । नेपालले भारतलाई गत कार्तिक देखि नै वार्ताको लागि पत्राचार गरीरहेको छ , कुटनीतिक नोट दिईरहेको छ तर भारतले उपयुक्त समय भन्दै वार्ता गर्ने मिति तोक्नुको साटो आलटाल गर्दै आईरहेको छ भने एक पक्षीय रुपमा नेपाली भूमिमा सडक उद्घाटन गरेर गंभीर चुनौती नेपाललाई दिएको छ ।
भारतको यही कदम पछि व्यापक जनदवाव बढेको छ । जसका कारण नेपालले नक्सा र सन् १९६२ को युद्धमा चीनसगँ पराजीत भए पछि कालापानीमा आएर बसेको भारतीय सेना हट्नु पर्ने माग नेपालको रहेको छ ।
अझ भारतीय सेना प्रमुख नरवाणेले नेपालले लिपुलेकको बिषय अरु कसैले उक्साएको आधारमा बोलेको भनेर गंभीर टिप्पणी गरेका थिए । जसको बिरुद्ध पनि नेपालमा असन्तुष्टी बढेको छ ।