काठमाडौं बैशाख १८ । ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा पक्राउ परेका शंकर ग्रुमका सञ्चालक एवं व्यवसायी सुलभ अग्रवाल २५ लाख ५० हजार धरौटीमा रिहा भएका छन् । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश बज्रेस प्यार्कुयालको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
अदालतले तत्काल निर्दोष हुन भन्न सक्ने अवस्था नदेखिएको र पछि ठहर भए बमोजिम निर्णय गर्ने भन्दै यस्तो आदेश दिएको हो ।
चैत २५ गते अग्रवाल ३५ सय पर्ने थर्मल गन १५ हजारमा बिक्री गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालले चीनबाट २० हजार वटा ल्याएकोमा १२ सय थर्मल गनको मात्र भन्सार तिरेको पाइएको थियो ।
सामाजिक काममा ल्याइएका भनिएका वस्तु बेच्न पाइन्न। भन्सारको विवरणअनुसार शंकर ग्रुपले ३ हजार थान टेस्ट किट, केही मास्क, पाँच सय थान पीपीई र १२ सय थान थर्मल गनलाई व्यापारिक प्रयोजनमा देखाएर भन्सार तिरेको छ। बाँकी भने ‘सेटिङ’ मा छिराएर अत्यधिक महंगोमा बेचेर कालोबजारी गरेको पाईए पछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूतसमेत रहेका अग्रवालले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको थियो। उनको साथबाट २०९ एचसीसी १ नम्बरको गाडी प्रहरीले बरामद गरेको थियो ।