काठमाडाैं, ११ वैशाख ।
अर्थमन्त्री डा. युवराज खतिवडाले विश्वका सबै मुलुकले अप्रत्याशित र अनपेक्षित स्वास्थ्य जोखिमको सामना गरिरहेको उल्लेख गर्नुभएकाे छ । विश्व आर्थिक मञ्चका पदाधिकारी, दक्षिण एशियाली राष्ट्रहरुका सरकार प्रमुख तथा उच्च पदस्थ पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधि, अर्थशास्त्री एवम् विश्व स्वास्थ्य संगठनका पदाधिकारीबीच आज भएकाे भिडियो कन्फरेन्समा उहाँले काेराेना कहरकाे सामना सबै मुलुकले गर्नु परेकेा बताउनु भयाे ।
उक्त कन्फरेन्समा विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड –१९) ले पारेको एवं पार्न सक्ने प्रभाव र सो लाई सम्बोधन गर्ने उपाय बारे छलफल भएकाे थियाे ।
अर्थमन्त्रीले आफ्नो मन्तव्य दिने क्रममा कोरोना भाईरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवं पार्न सक्ने प्रभाव, कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका कदमहरु तथा यस रोगको नियन्त्रणमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहयोग, साझेदारी र समन्वयका क्षेत्रमा गर्न सकिने प्रयास बारे जानकारी गराउनुभयो।
माननीय अर्थमन्त्रीले के धनी के गरिब हामी सबै अप्रत्याशित र अनपेक्षित स्वास्थ्य जोखिमको सामना गरिरहेको उल्लेख गर्नुभयो। साथै, कोभिड –१९ जस्ता अज्ञात शत्रुको सामना गर्न नसके सम्म सुरक्षा क्षेत्रमा भईरहेको बढ्दो खर्चले अर्थ नराख्ने उल्लेख गर्नुहुदै उहाँले सार्वजनिक स्रोत मानव कल्याणमा पुनर्प्राथिमिकीकरण र केन्द्रीत गर्नुपर्ने बताउनु भयो।
अर्थमन्त्री खतिवडाले कोभिड –१९ ले हालसम्म पुर्याएको तथा थप पुर्याउन सक्ने आर्थिक क्षतिको पुनर्स्थापना गर्न सरकार, अन्तर्राष्ट्रिय संघ संस्था र निजी क्षेत्रको सामूहिक प्रयास आवश्यक हुने धारणा राख्नुभयो।
उहाँले कोभिड –१९ ले बहुसंख्यक जनतालाई बेरोजगारी र गरिबीतर्फ धकेलेको प्रसंग उठाउनु हुँदै हामीले विगत तीन दशक देखि गरिबी निवारणमा गरेको प्रयास र सफलतालाई यसले कमजोर बनाउदै लगेको र दिगो विकास लक्ष्य हासिल गर्न थप चुनौती थपेको उल्लेख गर्नुभयो।
अर्थमन्त्री खतिवडाले काेराेनाका कारण उत्पन्न विश्वव्यापी संकटको समाधान गर्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव हुने उल्लेख ३ वटा सुझाव दिनु भएकाे छ । उहाँले सीमानाकामा हुने मानिसहरुको आवातजावत नियन्त्रण तथा आप्रवासी कामदारहरुको लागि आधारभूत सुविधा उपलब्ध गराउन Cross Boarder र अन्तर्राष्ट्रिय सहयोग र समन्वय गर्ने, स्वच्छ व्यापारको माध्यमबाट आधारभूत खाद्यान्न, औषधि र स्वास्थ्य उपकरण उपलब्ध गराउन सुनिश्चितता प्रदान गर्ने र ऋण स्थगन र ऋण मोचनका माध्यमबाट कम आयस्रोत भएका मुलुकहरुको वित्तीय क्षमता (Fiscal Space) बढाउने रहेका छन् ।
अर्थमन्त्रीले स्वास्थ्य क्षेत्र र संक्रमित रोगका विषयमा अनुसन्धान बढाउदै जाने सन्दर्भमा न्यून आय भएका मुलुकहरुमा बढिरहेको असंक्रमित रोगको चुनौती र प्रविधि हस्तान्तरणको समस्यालाई नजरअन्दाज गर्न नसकिने धारणा व्यक्त गर्नुभयो।
उक्त छलफलमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना, विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्ड, विश्व स्वास्थ्य संगठनका दक्षिणा – पूर्व एशिया निर्देशक पुनम खेत्रापल सिंह लगायत अन्य सहभागीले कोभिड –१९ को संकटलाई पार लगाउन सबैको सामूहिक र एकीकृत प्रयास रहनुपर्ने कुरामा जोड दिएका थिए ।