काठमाडौं, बैशाख ८ ।
मुलुकभर लकडाउन छ । ज्यालादारी मजदुर तथा पिपन्न वर्गलाई दैनीक गुजारा चलाउन समस्या भईरहेको छ । हजारौको संख्यामा मजदुर काठमाडौं उपत्यका छाडेर गाउँ गईसकेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा फैलिन थालेपछि सरकारले चैत ११ देखि मुलुकमा लकडाउन गरेको हो । लकडाउनले गर्दा मजदुर तथा दैनिक ज्यालादारी गर्ने एक छाक खानको लागि छटपटाइरहेका छन्।
यसैलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालीका १५ नं. वडाले भने आफ्नो क्षेत्रभित्र रहेका विपन्न नागरिकका लागि निशुल्क खाना खुवाउन थालेको छ । सुरुमा राहत वितरण गरेपनि आफै खाना खुवाउदा प्रभावकारी हुनेभएपछि काठमाडौं महानगरपालिका वडा नम्बर १५ र भुइँखेल टोलसुधार समितिको सहकार्यमा भुइँखेल चउरमा खाना खुवाउन थालेको हो ।
स्वयम्भू, भगवानपाउस्थित भुइँखेल चउरमा दैनीक ५ देखि ७ सय सम्मलाई खाना खुवाउने गरिएको भुइँखेल टोल सुधार समितिका अध्यक्ष किरण शाहीले बताए ।
यति ठुलो संख्यामा दैनीक खाना खुवाउदा संक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै व्यावस्थापन पक्षले गेटको नजिकै स्यानिटाइजरको व्यवस्था गरेको छ ।
दुईवटा ड्रममा स्यानिटाइजर राखेर पाइपबाट लगि चौरमा प्रवेश गर्ने गेट छेउमा बनाईएको कृतिम गेटमा जोडिएको छ । जहाँ उभिँदाबित्तिकै अटोमेटिक रुपमा पाइपबाट स्यानिटाइजर ‘स्प्रे’ हुन्छ।
व्यक्तिको शरीरभरि नै स्यानिटाइजर लगाइन्छ। खाना खान आउने सबैले चउरमा छिर्नुअघि सोहि गेटबाट प्रवेश गरेर भित्र एक फन्को लगाउन पर्छ ।

समितिका अध्यक्ष शाहीले सेन्सरबाट अटोमेटिक स्प्रे हुने व्यवस्था मिलाइएको र यो अर्गा्निक स्यानिटाइजर भएकाले शरीरमा लगाउँदा साइड इफेक्ट नगर्ने बताए ।
चउरमा लाइन राखेर खाना खानु अघि साबुन पानीले हात धुने व्यावस्था पनि गरिएको छ । जसका लागि साइडमा धारो समेत राखिदिएको छ । त्यसपछि चउरमा बसेर खाना खुवाउने व्यवस्था मिलाइएको छ। चैत २९ गतेदेखि यहाँ खाना खुवाउन सुरु गरिएको थियो।
खाना खुवाउने नेतृत्व १५ वडाले गरिरहेको छ भने अन्य व्यवस्थापन भुइँखेल टोल सुधार समितिले गरिरहेको छ। खाना खुवाउन सुरु गरेको पहिलो दिन १ सय ३० जनाले खाएका थिए। अर्को दिन २ सय ३० पुगे, शाहीले भने ।
लकडाउनको अवधि सरकारले बढाएपछि उनीहरुले वरपर माइकिङ पनि गरेका थिए । त्यसपछि खाना खान आउनेको संख्या बढेको उनले बताए ।
काठमाडौंबाट बाहिरिनेक्रममा सोहि बाटो हुँदै जानेहरुले समेत त्यहा पसेर खाना खाने र उनीहरुलाई स्वयमसेवकले चिउरा र पानी दिएर समेत पठाएका उनले बताए ।
सुरुको दुईरतीन दिन अलि गाह्रो भए पनि त्यसपछि सहयोग जुटेको वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलको भनाई छ । अहिले धेरै दाता तथा सहयोगी हातहरु आएका छन् जसले खाना खुवाउन कै लागि भनेर चामल दाल, आलु र पैसा समेत सहयोग गरिरहेका छन् ।
दैनिकजसो सहयोग आइरहेकोले अहिले खाना खुवाउन धेरै समस्या नभएपनि खाना खुवाउनेबेला सामाजीक दुरी कायम गराउन भने दैनीक रुपमा सकस नै पर्ने गरेको समितिका अध्यक्ष शाही बताउछन् ।
खाना खानेहरुको नाम र ठेगाना भने टिप्ने गरिएको छ । जसअनुसार हालसम्म कुलेश्वर, कालिमाटी, वनस्थली, ठूलो र्भयाङ, कीर्तिपुर, कलंकी, न्युरोड बाँगेमुढालगायतका क्षेत्रबाट खाना खान आइरहेका छन्।
पाँच सयभन्दा धेरैलाई खाना खुवाउने झण्डै २० जना स्वयंमेवक खटिएका छन्। उनीहरुले बिहानदेखि नै खाना बनाउने तयारी गर्छन्।

स्वयसेवकहरुले आ–आफ्नो काम गर्ने क्षेत्र छुट्याएका छन्। खरिद गर्ने समूह, तरकारी काटकुट गर्ने, पकाउने, बाँड्ने, भीड व्यवस्थापनमा गरी विभिन्न समूह छुट्याएर काम गरिरहेका छन्।
राहत बाँड्नभन्दा खाना नै खुवाउँदा धेरै सहयोग जुटेको छ ।साथै उनीहरुले नजिकै रहेको मस्जीतमा बस्नेहरुलाई दैनीक १४० वटा प्लेट खाना प्याक गरेर मस्जीतमा नै लगिदिने समेत गरेका छन् ।

साथै यो चउरमा खाना खाएको बेला सन्चारमाध्यमलाई भित्र पसेर खाना खादै गरेकाहरुको अनुहार देखिनेगरी फोटो खिच्न प्रतिबन्ध पनि लगाईएको छ ।उक्त चउरमा अाउन नसक्ने नसक्नेलाई घरमै राहत सामग्री पुर्याई दिने गरिएकाेे छ।
https://www.facebook.com/sirjanatimsina/videos/557080158547971/