बैशाख १ विराटनगर । मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा खाद्यान्न र खाद्यवस्तुका उद्योगहरू आंशिक रूपमा चल्न थालेपछि प्याकेजिङ उद्योगहरू पनि छिटपुट खुलेका छन् ।
सरकारले खाद्यान्न र खाद्यवस्तु लगायत दैनिक उपभोगमा आवश्यक सामग्रीका उद्योग खोल्न अनुमति दिएसँगै प्याकेजिङ उद्योग पनि खुल्न थालेका हुन् ।
दूध, चाउचाउ र पिठोको प्याकेजिङका लागि प्लास्टिकका प्याकेट बनाउने तथा चामल प्याकिङ गर्न प्लास्टिककै बोरा उत्पादन गर्ने विराटनगरको पशुपति पोलिप्रोपलिन उद्योग १० प्रतिशत क्षमतामा चल्न थालेको छ ।
‘‘उद्योग सङ्गठन वा व्यापार सङ्घको सिफारिसमा मजदुरलाई प्रशासनले पास वितरण गर्ने सहमति भएको थियो । त्यो कार्यान्वयनमा आउन सकेन । उद्योगले वितरण गरेको परिचयपत्रलाई सुरक्षाकर्मीले मान्दैनन् । मजदुरहरू लुकीलुकी उद्योग आउनु पर्ने अवस्था छ । उद्योगीहरुको भनाई छ ।
मोरङमा चामल प्याकिङका लागि प्लास्टिकका बोरा उत्पादन गर्ने अर्को उद्योग कृष्णा फेब्रिकेटेडका सञ्चालक सन्तोष अटलले आफ्नो कारखाना २५ प्रतिशत मात्र सञ्चालनमा आएको जानकारी दिए ।
उद्योगी अटलले केही चामल उद्योगहरू आंशिक रूपमा सञ्चालन हुन थालेको हुँदा आफ्नो उद्योग पनि थोरै मात्रामा सञ्चालनमा आएको बताए ।
‘सबै उद्योगको एउटै समस्या हो’, उनले भने, ‘कुन दिन कति सङ्ख्यामा मजदुर आउँछन् थाह हुँदैन । मजदुर आएअनुसार उद्योग चलाउनु परेको छ । यस्तो बेलामा कसैलाई बाध्य बनाउन पनि सकिन्न ।’
सिमेन्ट उद्योग बन्द भएसँगै प्लास्टिकका बोरा बनाउने उद्योग पनि धराशायी भएको उनको भनाई छ ।
राजकुमार गोल्छाको सञ्चालनमा रहेको जुटका बोरा बनाउने अरिहन्त मल्टिफाइबर्स पूर्णतः बन्द छ भने प्लास्टिकका बोरा बनाउने अरिहन्त पोलिप्याक उद्योग एक हप्ताजति चलेर बन्द भएको छ ।
‘लकडाउनकै अवस्थामा हामीले अरिहन्त पोलिप्याक सञ्चालनमा ल्याएका थियौँ’, उद्योगी गोल्छाले भने, ‘तर सुनसरीको खनारमा रहेको यो उद्योगमा मजदुरलाई आवतजावत गर्न नै समस्या भयो । त्यसैले बन्द गर्नुपर्यो ।’
सरकारले मजदुरले काम गरे पनि नगरे पनि उद्योगका कामदार र मजदुरलाई चैत महिनाको पारिश्रमिक उपलब्ध गराउन उद्योगलाई निर्देशन दिएको हुँदा मजदुर काममा आउन नमानेको उनको दाबी छ ।
मोरङ र सुनसरीमा रहेका २१ वटा कार्टुन उद्योगमध्ये बुढीगङ्गा गाउँपालिका स्थित अरिहन्त अटोकोरोगेसन प्रालि मात्र सञ्चालनमा छ ।
‘उद्योग सञ्चालन त भयो तर पूर्ण क्षमताको १० प्रतिशतमात्र उत्पादन भइरहेको छ’, अरिहन्तका सञ्चालक पारस लुनियाँले सुनाए, ‘हामीसित केही कच्चा पदार्थ मौज्दातमा थियो त्यसैले उद्योग सञ्चालन गर्न सक्यौँ । लकडाउन जारी रह्यो भने यो सञ्चालन पनि धेरै दिनको हुने छैन । हाम्रो उद्योगले देशभरिका २ सय ५० वटा उद्योगलाई कार्टुन आपूर्ति गर्दै आएकोमा अहिले ५ वटा उद्योगमा मात्र गरिरहेको छ ।’