काठमाडौं, २५ चैत । आगामी वैशाख १८ गतेसम्म अन्तर्रा्ष्ट्रिय उडान बन्द भएको छ । मंगलबार बसेको कोरोना भाइरस (कोभिड(१९) संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिले अन्तर्रा्ष्ट्रिय उडान वैशाख १८ अर्थात् अप्रिल ३० तारिखसम्म बन्द गर्ने निर्णय गरेको हो।
यसअघि सरकारले वैशाख ३ गतेसम्म अन्तर्रा्ष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो। मंगलबार थप १५ दिन अन्तर्रा्ष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिनुभयो । बैठकले आन्तरिक उडानको विषयमा भने केही निर्णय गरेको छैन ।
समिति बैठकमा लकडाउनको प्रभावमा परेका एक लाख १४ हजार तीन सय १६ परिवारलाई राहत वितरण रहेको विषयमा छलफल भएको छ। लकडाउन उलंघन गर्ने २६ सय व्यक्तिलाई कारबाही गरेर छोडिएको जानकारीसमेत विडारीले दिनुभयाे ।
यस्तै मेडिकल सामग्री छोटो र छिटो विधिबाट खरिद गर्ने प्रक्रिया अगाडि बढेको उहाँले बताउनु भयाे । सरकारले राष्ट्रिय योजना आयोगले कोरोना संक्रमणले अर्थतन्त्रमा परेको असरका बारेमा अध्ययन गर्ने काम पनि अगाडि बढाएको छ ।
सरकारले कोरोनाको बढी जोखिम देखिएका कैलाली, कञ्चनपुर र बागलुङमा परीक्षणलाई तिब्रता दिने निर्णयसमेत गरेको छ। सँगै कोरोना संक्रमणको सम्भावना देखिएका अछाम र हुम्लामा परीक्षण बढाउने निर्णयसमेत गरेको छ।
आवश्यक सवारी आवागमनलाई स्वभाविक राख्ने निर्णय गर्दै अनावश्यक हिडडुल गर्नेमाथि कडाईंगर्ने निर्णयसमेत बैठकले गरेको छ।
अहिलेसम्म काठमाडौं उपत्यकामा १६ जना र बाहिर ८४ जना गरेर एक सयजना आइसोलेसनमा उपचार गराइरहेका छन्। अहिलेसम्म नेपालमा ९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये एकजना निको भएका छन्। अहिले काठमाडौं बाहिरका ९ ठाउँमा कोरोना परीक्षण सुरु भएको छ। स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रणका लागि दुई रणनीतिसहित काम सुरु गरेको छ। मन्त्रालयले परीक्षणको संख्या बढाउने र क्वारेन्टाइनमा निरन्तर राख्ने रणनीति लिएको हो ।