नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

  • सोमवार, चैत्र २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

२४ चैत, काठमाडौं ।नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् ।राष्ट्र बैंकका तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको कार्यकाल सकिएको १९ दिनपछि सरकारले महाप्रसाद अधिकारीलाई नयाँ गभर्नरमा नियुक्त गरेको हाे ।

मन्त्रिपरिषद्को आजको बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहनुभएका अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो । झण्डै तीन दशकभन्दा बढी समय मुलुकको केन्द्रीय बैंकको विभिन्न भूमिकामा रहेर काम गर्नुभएका अधिकारी आगामी पाँच वर्षसम्म सोही बैंकलाई नेतृत्व प्रदान गर्नुहुनेछ ।

अर्थमन्त्री डा युवराज खतिवडाको संयोजकत्वमा गठन भएको समितिले अधिकारीसहित तीनजनाको नाम सिफारिस गरेको थियो । समितिले अधिकारीसहित नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र केही समयपहिले मात्रै अर्थ सचिवबाट अवकाश हुनुभएका राजन खनालको नाम सिफारिस गरेको थियो । सिफारिस समिति यही चैत १८ गते गठन भएको थियो । तीनजनामध्ये सरकारले अधिकारीलाई नियुक्त गरेको हो ।

तत्कालीन गभर्नर नेपाल नियुक्ति हुँदासमेत अधिकारी गभर्नरका लागि तीनजनामा पर्नुभएको थियो । नेपालले यही चैत ५ गते गभर्नरको पाँचवर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनुभएको थियो । सिफारिश समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रको लब्धप्रतिष्ठित व्यक्तिमध्येबाट दुईजना छान्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

यस्तै एकजना भने राष्ट्र बैंकका डेपुटी गभर्नरमध्येबाट छान्नुपर्ने प्रावधान छ । सोही व्यवस्थाअनुसार नै अधिकारीलाई नियुक्त गरिएको हो । खोटाङमा जन्मनुभएका अधिकारीले भारतबाट चार्टर्ड एकाउन्टेन्टको अध्ययन पूरा गर्नुभएको छ । चार्टर्ड एकाउन्टेन्टको पृष्ठभूमिबाट राष्ट्र बैंकको गभर्नर बन्ने उहाँ पहिलो व्यक्तित्व हुनुहुन्छ । हालका अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा उहाँको कार्यकाललाई सफल बनाउन सहयोग पु¥याउने मध्येका एक अधिकारी हुनुहुन्थ्यो ।

राष्ट्र बैंकमा रहेर डेपुटी गभर्नरको महत्वपूर्ण भूमिकासमेत सफलतापूर्वक निर्वाह गर्नुभएका अधिकारी पछिल्लो चार वर्षदेखि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ । अधिकारीले बोर्डको प्रमुख कार्यकारी अधिकृत भएर दुईवटा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको समेत आयोजना गर्नुभयो । बोर्डले संयोजन गरेका केही आयोजना कार्यान्वयनको चरणमा छन् । भारतीय कम्पनी सतलज विद्युत् निगमले सङ्खुवासभामा ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

यस्तै नेपाली साझेदारसहित चिनियाँ लगानीकर्ता समूहले होङ्सी शिवम् सिमेन्ट उद्योग सञ्चालनमा ल्याइसकेको छ । यस्तै धादिङमा अर्को चिनियाँ समूहले ह्वासिन सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको छ । अधिकारीले ‘बिजिनेस एड्मिनिस्ट्रेशन’ मा सन् १९८९ मा स्नातक गर्नुभएको छभने भारतबाट १९९३ मा चार्टर्ड एकाउन्टेन्टको डिग्री लिनुभएको छ । केन्द्रीय बैंकको वित्तीय व्यवस्थापन, बैंकिङ अफिस, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभागमा बसेर काम गरिसकेको अनुभव अधिकारीसँग छ ।

कोरोनाको कहरका कारण विश्वव्यापीरुपमा नै अर्थतन्त्रमा सङ्कट देखापरेको छ । त्यसको असरबाट नेपालसमेत अछुतो रहनसकेको छैन । यस्तो विषम अवस्थालाई अर्थतन्त्रलाई सुधार गर्दै लयमा ल्याउनु नै अधिकारीका लागि तत्कालको महत्वपूर्ण कार्यभार रहेको छ ।

कोरोना सङ्क्रमणका कारण विश्व आर्थिक मन्दीको अवस्था र त्यसले नेपालको आर्थिक क्षेत्रमा पार्ने प्रभावलाई कम गर्न सरकार, निजी क्षेत्र तथा अन्य सरोकार भएका निकायसँग समन्वय गर्नुपर्ने धरातलीय यथार्थ रहेको छ । बैंकिङ क्षेत्रलाई कोरोनाले पार्ने प्रभाव कम गर्दै सही दिशामा लैजानसमेत उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको छ । तत्कालीन गभर्नर डा नेपालले नेपालको वित्तीय क्षेत्रमा गरेका केही सुधारमा समेत अधिकारीको भूमिका थियो ।

केन्द्रीय बैंकको नेतृत्व सम्हाल्दै गर्दा अधिकारीले अघिल्ला गभर्नरले अगाडि बढाउनुभएको ‘बिग मर्जर’, बैंकिङ सुशासन र वित्तीय साक्षरता अभिवृद्धिका लागिसमेत काम गर्नुपर्ने अवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी