८ चैत, काठमाडौं ।
कोरोना संक्रमणको त्रासको मारमा काठमाडौंका ठूला होटल परेका छन् । कोरोना भाइरसको संक्रमणसँगै पर्यटन आवागमन घटेसँगै पाँचतारे होटल धमाधम बन्द हुन थालेका छन् ।
काठमाडौंको दरबारमागस्थित होटल याक एण्ड यति होटल शनिवारदेखि बन्द भएको छ । सूचना टाँस गरेर अनिश्चितकालीन रुपमा होटल बन्द गर्न आह्वान गरिएको छ ।
होटल व्यवस्थापनले आधिकारिक ट्रेड युनियनसँग छलफल समेत नगरी मजदुरलाई २५ प्रतिशत मात्रै सुविधा दिने र त्यसमध्ये पनि १२.५ प्रतिशत सरकारले व्यहोर्ने एकतर्फी सूचना टाँस गरेर होटल बन्द गरेको हो ।
शुक्रबार १३ वटा कोठामा ३५ जना गेष्ट रहेकोमा उनीहरुलाई शनिवार बिहान ब्रेकफास्ट खुवाएर बिदाई गरिएको थियो ।
आधिकारिक ट्रेड युनियन, होटल याक एण्ड यतिका अध्यक्ष वेद रायका अनुसार एकतर्फि निर्णय गर्दै होटलले छलफलबिनै १२.५ प्रतिशत तलब दिएर कर्मचारीलाई बिदा गरिएको हो ।
एकतर्फि निर्णय गर्नु गैरकानूनी भएको भन्दै श्रम ऐनको प्रावधानअनुसार कम्तीमा ५० प्रतिशत तलब सुविधा दिनुपर्ने माग मजदुरको छ ।
यस्तै काठमाडौंको चाबहिलस्थित होटल हायात पनि केहि दिन अगाडि नै बन्दको घोषणा गरिएको छ ।तर हायातमा कार्यरत कर्मचारीहरुलाई के कति सुविधा दिएर अनिवार्य बिदामा पठाउने भन्ने विवाद छ ।
होटल व्यवस्थापनले २५ प्रतिशतसम्म सुविधा दिनसक्ने बताउँदा श्रमिकहरुले श्रम ऐन अनुसार ५० प्रतिशत सुविधाको माग गरिरहेका छन् ।
त्यसबारे बिहीबार व्यवस्थापन र सबै ट्रेड युनियनका प्रतिनिधिबीच छलफल भएपनि सहमती हुन सकेन ।
उता, सोल्टी होटलेले पनि कर्मचारीलाई विदा दिएर घर पठाएको छ । त्यहाँ कुल १९५ दिनसम्म श्रमिकलाई छुट्टी दिँदा पनि कुनै पनि सेवा सुविधा कट्टा नगर्ने व्यवस्था गरिएको छ ।
सिञ्चित बिदा हुनेलाई बिदा कटाएर र बिदा बाँकी नहुनेलाई अग्रिम बिदा दिएर भने पनि कुनै पनि सेवा सुविधा कट्टि नगर्नेगरी व्यवस्था गरिएकोमा अहिले सोल्टीले कर्मचारीलाई सोही अनुसार बिदामा पठाएको छ ।
शुक्रबारसम्म सोल्टी होटेलमा ३९ प्रतिशत अकुपेन्सी थियो । यद्यपि करिब ९० प्रतिशत कर्मचारीलाई अहिले बिदा दिइसकिएको छ ।