विराटनगर, चैत ८ । भारतीय ग्राहकलाई लक्षित गर्दै विराटनगरमा सञ्चालित होटल रत्नाको क्यासिनो नेपाल प्रहरीले बन्द गराएको छ ।
रत्ना होटलमा सञ्चालित सीएमजी क्लव क्यासिनोमा भारतीय खेलाडी आउन सक्ने भएपछि संभावित जोखिमलाई न्यूनीकरण गर्न भन्दै प्रहरीले बन्द गराएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलि शुक्रबार दिउँसो आफैं होटल रत्नाको क्यासिनो सीएमजी क्लवको अनुगमनका लागि बिहीबार राती पुगेको थियो । त्यस क्रममा भारतीय नागरिकहरुको भीड क्यासिनोमा देखिएपछि शुक्रबारदेखि पूर्ण रुपमा बन्द गर्ने गरिएको छ ।
प्रहरीले कोरोना संक्रमणको जोखिम न्यूनीकरण नहुँदासम्म क्यासिनो नचलाउन भनेको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । होटल रत्नासित घर बहालमा लिएर काठमाडौंका नरेन्द्र शाहले २०६५ पुसदेखि क्यासिनो सञ्चालनमा ल्याउनु भएको थियो ।
चौबीसै घण्टा चल्ने उक्त क्यासिनोमा दैनिक २०० बढीले ग्राहक आउने गरेको क्यासिनोका मेनेजर शिवकुमार राईले जानकारी दिनुभयो । क्यासिनोको ६० जनासम्मले जुवा खेल्न सक्ने क्षमता रहेको छ । सिएमजी क्यासिनो क्लब विराटनगरको एकमात्र वैधानिक जूवाघर हो । विराटनगरमा होटल स्वागतमले २०६५ सालदेखि नै सञ्चालन गरेको क्यासिनो २०७३ सालदेखि बन्द भएको छ ।
विराटनगरमा सञ्चालित गीतगजल र रेष्टु–राँलाई समेत शुक्रबार रातीदेखि बन्द गर्ने तयारी प्रहरीले गरेको छ । अधिकांश गीतगजलमा भारतीयहरु आउने गरेका कारण तत्काललाई सबै गीतगजल बन्द गर्ने तयारी गरिएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । सरकारले डान्स बार मात्र बन्द गर्ने भनेपनि गीतगजललाई डान्स बारकै शैलीमा सञ्चालन गरिने भएकाले बन्द गर्नुपर्ने अवस्था आएको उपरीक्षक अधिकारीको भनाई छ । विराटनगर १७ वटा गीतगजल सञ्चालित रहेका छन् । यी गीतगजलमा २५० जनाले रोजगारी पाईरहेको होटल मुनका सञ्चालक एवं क्यानिसो समन्वय समितिका संयोजक विजय प्रसाँईको दावी छ ।