काठमाडौं, ५ चैत । सरकारले चैत मसान्तसम्म बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय तथा विश्वविद्यालयका पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलकाे संयोजकत्वमा बनेकाे कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे बुधबार बसेकाे विश्वविद्यालयसहित बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।
यस्तै, त्रिवि लगायतका ११ वटै विश्वविद्यालय परीक्षाका कार्यक्रम भने यथावत रहने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताए। बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गर्ने निर्णय पनि गरेको छ।
यस्तै अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन र हिँडडुल नगर्न सर्वसाधारणलाई आह्वान गरेको छ ।त्यस्तै पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ ।
सार्वजनिक यातायातमा पनि सिट क्षमता भन्दा बढी यात्रु नबोक्न आग्रह गरेको छ । त्यस्तै भीडभाड गरी यात्रा नगर्न सर्वसाधारणलाई पनि आग्रह गरेको छ ।
समितिको बैठकले मानिसहरुको जमघट हुने सार्वजनिम महत्वको स्थलहरुमा स्थानीय तहहरुले दैनिक रुपमा सरसफाइ र डिसइन्फेक्सन गर्नुपर्ने पनि निर्णय गरेको छ ।
५५ मुलुकबाट नेपाल आउन प्रतिबन्ध
सरकारले कोरोना भइरसको संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ ।बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो ।
यो प्रतिबन्ध २० मार्च अर्थात शुक्रबारबाट लागू हुनेछ र १५ अप्रिलसम्म कायम रहनेछ । बैठकमा सहभागी एक मन्त्रीले भने, ‘अहिले नै सरकारले पूर्ण रुपमा ‘लकडाउन’ भनेको छैन तर यो प्रतिबन्धले ५५ प्रदेशबाट नेपाल आउन रोक्नेछ ।’
सिनेमा हल, जिम र डान्सबार बन्द, सपिङ मलमा स्यानिटाइजर अनिवार्य
बैठकले ३० अप्रिलसम्म सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ ।
निर्णयको २ नं. बुँदामा भनिएको छ, ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने ।’
यस्तै बैठकले होटल, रेष्टुरेन्ट तथा सपिङ्ग मलको सञ्चालकलाई हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गर्न अनिवार्य गरेको छ । टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्न पनि भनिएको छ ।
साथै, तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी ती स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको सवास्थ्य जाँच गर्ने पनि निर्णय भएको छ ।