एलपी ग्यास नियमितभन्दा बढी आयात, सर्वसाधारणले मौज्दात राख्नु पर्दैनः पौडेल

एलपी ग्यास नियमितभन्दा बढी आयात, सर्वसाधारणले मौज्दात राख्नु पर्दैनः पौडेल

  • आइतवार, चैत्र २, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, २ चैत ।
नेपाल आयल निगम लिमिटेडले खाना पकाउने एलपी ग्यास नियमित भन्दा बढी आयात भइरहेकाले मौज्दात राख्नका लागि नआत्तिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

विश्वभर फैलिरहेको कारोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणका कारण आयातमा कमी हुने भन्ने भ्रमले आम उपभोक्ताले आवश्यक भन्दा बढी ग्यास मौज्दात राख्न खोज्दा बजारमा ग्यासको कमी देखिन थालेको छ । त्यसैले नियमित भन्दा बढी ग्यास आयात हुँदा पनि बजारमा ग्यास सहज रुपमा नभएको हो ।

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बजारमा ग्यासलगायत अत्यावश्यक खाद्य सामग्रीको कमी देखिएको र कालोबजारी बढेको भन्ने सर्वसाधारणको गुनासो सम्बन्धमा सम्बन्धित अधिकारीसँग आज छलफल गरेको छ । निगमको तथ्याङ्कअनुसार गतवर्ष फेब्रुअरी महिनामा ३५ हजार ७५४ मेट्रिक टन ग्यास आयात भएकामा यसवर्ष फेब्रअरी महिनामा ४१ हजार ११५ मेट्रिक टन ग्यास आयात भएको छ ।

समितिको बैठकमा निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले सो तथ्याङ्क प्रस्तुत गर्दै अझै आयात बढाएर ग्यासको कमी हुन नदिइने बताउनुभयो । निगमले तत्कालका लागि नयाँ सिलिण्डर बिक्री नगर्न बिक्रेतालाई आग्रह गरेको उहाँले जानकारी गराउनुभयो । साथै उहाँले पेट्रोलियम पदार्थको कुनै कमी नभएको र सहज रुपमा आपूर्ति भइरहेको समेत बताउनुभयो ।

पौडेलले आइतबार रक्सौल नाकाबाट मात्रै ८६ बुलेट ग्यास भन्सार पास भएर नेपाल आउने क्रममा रहेको उल्लेख गर्दै काठमाडौं उपत्यकामा ३८ वटा बुलेट आउने बताउनु भयाे ।

उहाँले भन्नुभयाे, ‘आज मात्रै रक्सौलबाट ८६ बुलेट भन्सार पास भएर आउने क्रममा छन् । त्यो भनेको १२ सय ८५ लिटर अर्थात् १ लाख सिलिण्डर हो । काठमाडौंका लागि ३८ र बाहिरका लागि ४८ वटा बुलेट छन् । त्योबाहेक भैरहवा, नेपालगञ्ज, काँकडभित्ता र धनगढीबाट पनि भित्रिने गरेको छ ।’

नेपालमा हाल जम्मा ५८ कम्पनीले ग्यास वितरण गर्र्दै आएका छन् भने उपभोक्ता कहाँ रु एक करोड १२ लाख सिलिण्डर रहेका छन् । मुलुकभर सामान्य अवस्थामा दैनिक ९० हजार सिलिण्डर ग्यास खपत हुने गरेको छ । समिति सभापति बिमलप्रसाद श्रीवास्तवको अध्यक्षतामा भएको बैठकमा सांसदहरुले ग्यास र पेट्रोलियम पदार्थको भण्डारको उचित व्यवस्थापन गरी यसको दिगो समाधानका लागि सुझाव दिनुभएको थियो ।

बैठकमा सांसद देवेन्द्र पौडेलले बजारमा अत्यावश्यक वस्तुको कमी हुन नदिन र प्रभावकारी अनुगमन गरी कालोबजारी गर्नेलाई कारवाही गर्नुपर्ने बताउनुभयो । सांसद प्रकाश रसाइली (स्नेही)ले ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्ति र वितरणमा व्यवस्थापन गरी जनतालाई सहजरूपमा जीवनयापनका लागि सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

सांसद विन्दा पाण्डेले तीन तहका सम्बन्धित अधिकारीको समन्वयमा प्रभावकारी अनुगमन गरे कालोबजारी गर्नेलाई नियन्त्रण गर्न सकिने धारणा व्यक्त गर्नुभयो । सांसद सुजाता परियारले मुलुक र जनतालाई अफ्ठ्यारो परेका बेला मूल्य वृद्धि गरी बिक्री गर्ने र सामानको आभाव देखाउने जोसुकै व्यक्तिलाई कानून बमोजिम कारवाही गर्न माग गर्नुुभयो ।

सांसद अमृतादेवी अग्रहरीले अत्यावश्यक वस्तुको अभाव हुन नदिन दिगो समाधानका लागि भण्डारको उचित व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो । सांसद दिलकुमारीले निगमका जग्गामा देखिएको विवाद समाधान गरी भण्डारणको व्यवस्थापन तत्काल थाल्नपर्ने बताउनुभयो । समितिले ग्यासलगायत अत्यावश्यक सामग्रीको अभाव देखिएको र कालोबजारी बढेको भन्ने बारेमा जानकारी लिन सोमबार निगमको भण्डारण क्षमता तथा उपत्यकाभित्रका केही पेट्रोलियम भण्डारण स्थलको स्थलगत अनुगमन गर्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ