कोभिड–१९ को प्रभाव खेलकूदमा, विश्वकप देखि एएफसी एशियन कप छनौट स्थगित

कोभिड–१९ को प्रभाव खेलकूदमा, विश्वकप देखि एएफसी एशियन कप छनौट स्थगित

  • बुधबार, फाल्गुन २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौँ, २७ फागुन । चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को बढ्दो सङ्क्रमणका कारण विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल गतिविधिहरु तत्कालको लागि रोकिएका छन् ।

फुटबलको सर्वोच्च निकाय (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी) को संयुक्त बैठकले विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरसका कारण एशियामा तय भएका विश्वकप छनोट–२०२२ र एएफसी एशियन कप छनोट–२०२३ को खेल हाललाई स्थगित गर्ने निर्णय भएको छ ।

बैठकले फिफामा आबद्ध सबै व्यक्तिको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै तत्कालको लागि खेल रोकेको हो । फिफाको निर्णयसँगै केही दिनअघि मात्रै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले पनि विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न खेलकूद गतिविधिलगायतको सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण, उपमेयर कप महिला लिग फुटबललगायतको खेलकूद गतिविधि तत्कालको लागि रोक्यो । एन्फाले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिनको लागि ठूल ठूला घरेलु प्रतियोगिता एवं अन्तरराष्ट्रिय प्रतियोगिता पनि रोकेको छ ।

फिफा विश्वकप तथा एशियन कप छनोटअन्तर्गत चाइनिज ताइपेई र अष्ट्रेलियासँगको खेलका लागि तयारी गरिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणसमेत रोकेको थियो । घरेलु मैदानमा नेपालले आगामी चैत १३ गते चाइनिज ताइपेई र चैत १८ गते अष्ट्रेलियासँग खेल्ने तय भएको थियो ।

त्यसैको तयारीस्वरूप २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीले सातदोबाटोस्थित एन्फा मैदानमा फागुन १८ गतेदेखि प्रशिक्षण शुरु गरेको थियो । त्यस्तै चैत ३ गतेदेखि तय भएको राष्ट्रिय महिला लिग फुटबल पनि हाल नगर्ने गरी रोकिएको छ । सातदोबाटोमा ओलम्पिक छनोटको बन्द प्रशिक्षणको करातेको टोली भने नियमित अभ्यासमा रहेको करातेका मुख्य प्रशिक्षक दिपक श्रेष्ठले राससलाई बताउनुभयो ।

कोरोनाका कारण खेलाडीमा मनोवैज्ञानिक असर परेता पनि प्रशिक्षणमा धेरै भिडभाड नहुने भएकाले प्रशिक्षण यथावत राखेको प्रक्षिशक श्रेष्ठको भनाइ थियो । “अहिले करातेका कुनै प्रतियोगिता नरहेको कारण अभ्यासमा धेरै मानिसको हुलमुल नहुने भएकाले नियमित अभ्यास जारी नै राखेका छौँ”, प्रशिक्षक श्रेष्ठ भन्नुहुन्छ ।

भलिबलमा भने यसअघि नै बङ्गलादेशमा हुने तय भएको एसियन भलिबल कन्फिडेरेस (एभीसी) भलिबल च्याम्पियनसिप रोकिएको छ । बक्सिङका धेरैजसो प्रतियोगिताहरु रोकिएका छन् ।

कोरोना भाइस कै कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी चैत १ देखि १५ गतेसम्म तय भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) तत्कालका लागि रोकिएको छ । आयोजक इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले भन्नुभयो “कोरोनाको त्रासले अहिले इपिएल रोकेका छौँ । स्थिति नियन्त्रण भएपछि नयाँ मिति सार्वजनिक गर्नेछौँ” ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबाहदुर चन्दले तत्कालको लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिताको खेल तालिका नभएकाले क्रिकेट क्षेत्रमा कोरोना भाइसको खासै असर नपरेको बताउनुभयो । उहाँले इपिएलबाहेक क्रिकेट क्षेत्रमा ठूला अन्तरराष्ट्रिय प्रतियोगिता तत्काललाई नभएकाले कोरोना भाइसले खासै असर नगरेको राससलाई बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ