चिरन्जिवी नेपालको कार्यकाल चैत ५ मा सकिदै,को बन्लान् नयाँ गभर्नर ?

चिरन्जिवी नेपालको कार्यकाल चैत ५ मा सकिदै,को बन्लान् नयाँ गभर्नर ?

  • मङ्लबार, फाल्गुन २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

आगामि चैत ५ गते गभर्नर चिरन्जिवी नेपालको कार्यकाल सकिदैछ । नेपालले अवकाश पाउनैलाग्दा मुलुकको नयाँ गभर्नर को बन्छभन्ने चर्चा चुलिएकाेछ । अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरू नयाँ गभर्नर कसलाई बनाउने भन्ने विषयमा अहिलेसम्म अर्थमन्त्री युवराज खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच खासै छलफल हुन नपाएको बताउँछन्।

गभर्नरका आकांक्षीहरूले अर्थमन्त्री खतिवडा, नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटी अनुनय– विनय गर्नुबाहेक अहिलेसम्म थप केही भएको छैन। अर्थ र प्रधानमन्त्री कार्यालयका ती अधिकारीहरूले छलफल हुन बाँकी रहे पनि गभर्नरका लागि हुने सिफारिसमा तीनैजनाका ‘आ–आफ्ना मान्छे’ पर्ने बताए।

ती अधिकारीहरूले प्रधानमन्त्री ओलीका तर्फबाट अहिलेका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, अर्थमन्त्री खतिवडाका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र दाहालका तर्फबाट राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ गभर्नरका लागि सिफारिसमा पर्ने दाबी गरे।

राष्ट्र बैंक ऐनले बहालवाला गभर्नर अवकाश हुनु एक महिनाअघि नयाँ गभर्नर छान्न समिति गठन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। अर्थमन्त्री संयोजक हुने समितिले नयाँ गभर्नरका लागि तीनजनाको नाम सिफारिस गर्ने र तीमध्येबाट सरकारले एकलाई नियुक्त गर्ने व्यवस्था छ। ऐनले किटानी व्यवस्था गरे पनि गभर्नर नेपालको कार्यकाल सकिन एक साता मात्र बाँकी हुँदा पनि समिति गठन भएको छैन।

मुलुकको अर्थतन्त्रको जिम्मेवारी लिएको हिसाबले व्यवहारिक रुपमा हेर्दा गभर्नर छान्ने अधिकार अर्थमन्त्रीको हो। मौद्रिक नीतिलाई हाँकेर बस्ने गभर्नरले अर्थमन्त्रीसँग मिलेर काम गर्नुपर्ने हुन्छ। तर विगतदेखि नै गभर्नर छनोट प्रधानमन्त्रीको इच्छामा हुँदै आएको छ। यसपटक पनि अवस्था त्यस्तै देखिएको ती अधिकारीहरूले बताए।

अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयका अधिकारीहरू सिफारिसमा जो परे पनि नयाँ गभर्नर प्रधानमन्त्री ओलीले चाहेको व्यक्ति हुने दाबी गर्छन्। अहिलेको अवस्थामा खतिवडाले ‘यो व्यक्ति ठिक छ हजुर’ भन्नेबाहेक केही गर्न नसक्ने दाबी पनि उनीहरुको छ। आफ्नै पार्टीका शीर्ष नेताहरूबीचको ठूलो राजनीतिक रस्साकस्सीपछि ओलीले खतिवडालाई फेरि अर्थमन्त्री बनाएका छन्। त्यसैले खतिवडा ओलीलाई रत्तिभर दबाब दिने हैसियतमा छैनन्।

ती अधिकारीहरूका अनुसार अहिलेसम्म प्रधानमन्त्री र अर्थमन्त्रीबीच गभर्नरका बारेमा खासै छलफल भएको छैन। प्रधानमन्त्रीको स्वास्थ्य ठिक भएर काममा फर्केपछि मात्र यसबारे दुईजनाबीच छलफल हुनेछ। अहिले तत्काल समितिसम्म बन्न सक्छ।

नयाँ गभर्नर नियुक्तिका लागि नेकपाका नेताहरूले अहिले ओलीलाई दबाब दिन सक्ने अवस्था नभएको ती अधिकारी बताउँछन्। नेकपा नेताहरुले ‘सभामुख चयन र वामदेव गौतम’ प्रकरणमा ओलीलाई पर्याप्त दबाब दिए पनि सरकार सञ्चालनको सबालमा दबाब दिन नसक्ने देखिन्छ। ओली नयाँ गभर्नर कसलाई बनाउने भन्ने विषयमा नेकपाका अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत कसैसँग पनि छलफल गर्ने पक्षमा नरहेको पनि ती अधिकारीले बताए।

खतिवडाले ओलीलाई ‘कन्भिन्स’ गरे भने आफूले चाहेको व्यक्तिलाई गभर्नर बनाउन सक्ने सम्भावना भने छ। तर ओलीका ‘आफ्नै मान्छे’ भए खतिवडाले भने पनि हुनेछैन। ‘यी तीनजनाबाहेक अहिलेसम्मको अवस्था हेर्दा अरु बजारमा चलेका नाम हल्ला मात्र हुन्,’ ती अधिकारीहरूले भने, ‘प्रधानमन्त्री ओलीको कोही आफ्नै अर्को मान्छे भए मात्र यो स्थितिमा परिवर्तन होला अन्यथा चर्चामा रहेका तीनमध्ये एक गभर्नर हुन्।’

तीनजनामध्ये अर्थमन्त्री खतिवडाको सबैभन्दा प्रियपात्र अधिकारी हुन्। अधिकारीले खतिवडा गभर्नर हुँदा उनको सामीप्यमा रहेर काम गरेका थिए। यसअघि पनि खतिवडाको नेतृत्वमा बनेको छनोट समितिले अधिकारीलाई लगानी बोर्डको प्रमुख कार्यकारी बनाएको थियो। लगानी बोर्डमा लैजाँदा जस्तै खतिवडाले प्रधानमन्त्री ओलीलाई विश्वासमा पार्न सके अधिकारीको सम्भावना छ।

अर्थमन्त्री खतिवडाले खासै नरुचाए पनि डेपुटी गभर्नर सिवाकोटीसँग ओलीको लामो समयदेखि राम्रो सम्बन्ध छ। ओलीकै पहलमा सिवाकोटीलाई कार्यकारी निर्देशकबाट डेपुटी गभर्नर बनाइएको बताइन्छ। सिवाकोटीले हालै आफ्नो पुस्तक ‘समृद्धि’ विमोचन गर्दा र पाँचथरमा प्रधानमन्त्रीको जन्मोत्सवमा सहभागी भएर ओलीसँगको निकटता देखाइसकेका छन्। ‘अहिले सिवाकोटीलाई रोक्ने भनेको खतिवडाले मात्र हो। यसमा खतिवडा सफल नभए नयाँ गभर्नरमा सिवाकोटीको सम्भावना सबैभन्दा माथि छ,’ ती अधिकारीले दाबीसाथ भने।

राष्ट्र बैंकको कार्यकारी निर्देशक हुँदै आयोगको उपाध्यक्ष बनेका श्रेष्ठ दाहालको सिफारिसमा परे पनि गभर्नर हुने सम्भावना कमै देखिन्छ। मौद्रिक र आर्थिक दुवै नीतिमा उनको राम्रो अनुभव र दक्षता छ। विगतमा अनुसन्धानमा पनि उनले आफूलाई अब्बल साबित गरेका छन्। ‘सिफारिसमा पर्ने तीनमध्ये ‘हाम्रो नभएर राम्रो’ हेर्ने हो भने गभर्नरका लागि सबैभन्दा उपयुक्त पात्र श्रेष्ठ हुन्,’ ती अधिकारीले भने, ‘तर उनी गभर्नर हुने दौडमा तेस्रो पात्र बन्नेछन्।’

ती अधिकारीका अनुसार अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री ओलीलाई ‘कन्भिन्स’ गर्नसके मुलुकको भावी गभर्नर अधिकारी हुनेछन् नत्र सिवाकोटीको विकल्प अहिले देखिएको छैन। ओलीको खल्तीमा कोही भए त्यो सबैका लागि आश्चर्यको विषय हुने आजको नागरिकमा दैनिकले लेखेकाे छ ।
सरकारले अन्य संस्थामा गर्ने नियुक्तिभन्दा गभर्नर पद भिन्न खालको हो। सरकारको आर्थिक सल्लाहकार मानिने निकायलाई नेतृत्व गर्ने व्यक्ति फितलो भए पूरै वित्तीय क्षेत्र समस्यामा पर्न सक्छ। जसका कारण मुलुककै अर्थतन्त्रमा असर पर्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी