काठमाडौं,१७ फागुन ।
एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
थाइल्याण्डको बैंककमा नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजे मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवातको लक्ष्यमा रहनेछ ।
उपाधि जित्ने लक्ष्य लिएको नेपाल मलेसियालाई हराउँदै उत्कृष्ट सुरुवात गर्न चाहन्छ । नेपाल प्रतियोगितामा एकदिवसीय मान्यता पाएको एक्लो राष्ट्र हो । त्यसैले नेपाललाई उपाधि दाबेदार टिम मानिएको छ ।
तर हालै हङकङविरुद्धको पाँच खेलको टी–ट्वान्टी सिरिजमा क्लिन स्विप गरेको मलेसियाले नेपाललाई कडा चुनौती दिने अनुमान गरिएको छ ।
प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्याण्ड, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।
हालसम्म टी–ट्वान्टीमा नेपाल र मलेसियाबीच ७ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल हाबी देखिन्छ । नेपालले ६ खेलमा जित हात पारेको छ भने मलेसियाले १ खेल जितेको छ ।
सन् २००७ को कुवेतमा भएको एसीसी टी–ट्वान्टी कपमा नेपालले मलेसियासँग पहिलो पटक खेलेको थियो । सो खेलमा नेपालले २१ रनको जित निकालेको थियो ।
यस्तै दोस्रो भेट युएईमा सन् २००९ को एसीसी टी–ट्वान्टी कपमा भएको थियो । जुन खेल नेपालले ६ विकेटले हारेको थियो ।
सन् २०१३ को एसीसी टी–ट्वान्टी कप आयोजना गरेको नेपालले १९ रन र सन् २०१८ को विश्व टी–ट्वान्टी एसिया अन्तर रिजनल छनोटमा ८ विकेटको जित निकालेको थियो ।
नेपाल र मलेसियाबीच एसिया फाइनलको छनोट तयारीको रुपमा सिरिज खेलेका थिए । जसमा नेपालले एतिहासिक क्लिन स्विप गरेको थियो । पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।
सन् २०१९ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो ।