काठमाडौं, १६ फागुन ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले २८४ बिघा ५ कठ्ठा १५ धुर जग्गा नेपाल सरकारको नाममा कायम गरेको बताउनु भएको छ । १८ भदौ २०७५ मा मन्त्री बने यता विभिन्न कारणले व्यक्तिको नाममा पुगेको जग्गा फिर्ता गरेको उहाले जानकारी दिनुभएको हो ।
मन्त्री अर्यालले आज आफ्नो कार्यकालमा भएका उपलब्धी सार्वजनिक गर्दै हदबन्दी भन्दा बढी रहेको १० हजार १९२ बिघा जग्गा रोक्का राखेको जानकारी दिनुभएको छ । उहाका अनुसार सरकारी जग्गा संरक्षणका लागि छानबिन गर्न गठित सरकारी, सार्वजनिक, गुठी जग्गाको संरक्षणसम्बन्धी जाँचबुझ आयोले बुझाएको प्रतिवेदन कार्यान्वयनको चरणमा छ ।
मन्त्रालयले गुठी विधेयक लगायतलाई समेटेर एकीकृत भूमि ऐन ल्याउने तयारी गरेको छ । गुठी विधेयकको सम्बन्धमा सरोकारवालासँग पटकपटक छलफल भइसकेको मन्त्रीको भनाइ छ । संसदमा दर्ता भएको गुठी विधेयकमा व्यापक जनविरोधपछि गत असारमा सरकारले फिर्ता लिएको थियो । त्यही विधेयक पुनः ल्याउने तयारीमा मन्त्रालय लागेको हो ।
आफ्नै स्रोत र जनशक्ति प्रयोग गरेर सरकारले सगरमाथाको उचाई मापन गरेको छ । उचाई मापन सम्बन्धी ९० प्रतिशत काम सम्पन्न भइसकेको मन्त्री अर्यालले जानकारी दिनुभयो । नेपालको मिचिएको भूमि सहितको नक्सा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको, नाप नक्सामा लाइडर नापी प्रविधि अपनाइएको, आनलाइन निगरानी प्रणाली लागु गरिएको मन्त्रालयद्वारा सार्वजनिक पुस्तिकामा उल्लेख छ ।