प्रधानमन्त्रीद्वारा खोरुङ्गाखोला आयोजना उद्घाटन,७.५ मेगावाट विजुली उत्पादन शुरु

प्रधानमन्त्रीद्वारा खोरुङ्गाखोला आयोजना उद्घाटन,७.५ मेगावाट विजुली उत्पादन शुरु

  • शनिबार, फाल्गुन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले खोरुङ्गाखोला साना जलविद्युत् आयोजनाको आज उद्घाटन गर्नुभएको छ । तेह्रथुम पावर कम्पनीले निर्माण गरेको कूल ७.५ मेगावाट क्षमताको सो आयोजना आज उहाँले आफ्नै निवास बालुवाटारमा रहेको ‘एक्सन रुम’बाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्नुभएको हो ।

उद्घाटनलगत्तै तेह्रथुमको खोरुङ्गामा निर्माण भएको सो आयोजनाले आजदेखि व्यावसायिक विद्युत् उत्पादन शुरु गरेको छ । प्रधानमन्त्रीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्नका लागि सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढिरहेको बताउनुभयो । नेपालको जलविद्युत् उत्पादनको इतिहासमा निजी क्षेत्रले गरेको योगदान महत्वपूर्ण छ भन्दै उहाँले समयभन्दा अगावै आयोजना सम्पन्न गरेकामा प्रवद्र्धक कम्पनीलाई धन्यवाद दिनुभयो ।

सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई राखेको उल्लेख गर्दै सबैको सार्थक प्रयासबाट मात्रै सफलता हासिल हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले आयोजना समयमै सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेकामा कम्पनीका प्रबन्ध सञ्चालक मोहन डाँगीलगायत सम्पूर्ण लगानीकर्ता तथा तेह्रथुमवासीलाई आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायतको उपस्थिति थियो । गत माघ २६ गतेदेखि सो आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो । कम्पनीका प्रबन्ध सञ्चालक डाँगीका अनुसार आयोजनाबाट उत्पादन भएको विद्युत् विद्युतगृहदेखि ४।७ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको जिरी–खिम्ती सबस्टेशनमार्फत राष्ट्रिय प्रणालीमा जोडिएको छ । सबस्टेशनसम्म आवश्यक पर्ने ३३ केभी क्षमताको प्रसारण लाइन प्रवद्र्धक कम्पनी आफैँले निर्माण गरेको प्रबन्ध सञ्चालक डाँगीको भनाइ छ ।

समयमा काम नगरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खारेज गरेका आयोजनामध्ये खोरुङ्गाखोला आयोजना एक हो । “ठूलो मेहनत गरेर आयोजना निर्माण सम्पन्न गरी उद्घाटन गराउन पाउँदा मलाई असाध्यै खुशी लागेको छ”, प्रबन्ध सञ्चालक डाँगीले भन्नुभयो, “काम शुरु भइसकेको आयोजनालाई काम नभएको भन्दै आयोगले अनुमतिपत्र नै खारेज गरिदिएको थियो । तीन वर्षका अवधिमा विद्युत् खरिदबिक्री सम्झौता, वित्तीय व्यवस्थापन गरी आयोजना नै सम्पन्न ग¥याँै ।”

विसं २०७३ माघदेखि निर्माण शुरु भएको आयोजनाको गत पुस पहिलो साता नै सम्पन्न गरिएको थियो । विद्युत् प्राधिकरणले आवश्यक परीक्षण गरी १५ दिन परीक्षण उत्पादन गरेको थियो । आवश्यक तयारी तथा अन्य प्राविधिक परीक्षणपछि आजदेखि व्यावसायिक उत्पादन शुरु भएको हो ।

स्थानीय खोरुङ्गाखोलाको पानी इवाखोलामा झारेर विद्युत्गृहमा पठार्इ विद्युत् उत्पादन गर्ने गरी डिजाइन गरिएको छ । आयोजनाको शुरुमा कूल लागत रु एक अर्ब ३७ करोड अनुमान गरिए पनि रु एक अर्ब ३२ करोड मात्रै खर्च भएको छ । आयोजनाको प्रतिमेगावाट लागत करिब रु १७ करोड ६० लाख छ । आयोजनामा स्वपूँजी २७ प्रतिशत र बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ७३ प्रतिशत छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा नेपाल बङ्गलादेश बैंक र साविकको जनता बैंकले ऋण लगानी गरेका छन् ।

आयोजनाको हाइड्रोमेकानिकलको काम श्रीभगत् कन्स्ट्रक्शन, इलेक्ट्रोमेकानिकलतर्फ एण्ड्रिज हाइड्रो रहेको छ । आयोजनाको विद्युत्गृह तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिका ६ मा पर्छ । आयोजनाको इन्टेक र एलाइन्मेन्ट भने वडा नं ४ र ५ मा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी