विद्युतीय तार भूमिगत बनाउने काम शुरु, अब शहर कुरुप हुँदैन: प्रधानमन्त्री

विद्युतीय तार भूमिगत बनाउने काम शुरु, अब शहर कुरुप हुँदैन: प्रधानमन्त्री

  • सोमवार, फाल्गुन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

५ फागुन, काठमाडौं ।  

काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकाङ्क्षी परियोजना शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज महाराजगञ्जबाट उक्त परियोजनाको कार्य आरम्भ गर्नुभएको हो । पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको भूमिगत बनाउने कार्यक्रमको शिलान्याशपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको नयाँ अध्याय शुरु भएको बताउनुभयो ।

उहाँले विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्ने उल्लेख गर्दै कुरुपताको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसबाट आम जनतालाई पनि सहज हुने र सेवा पनि सरल रुपमा प्राप्त गर्न सकिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “यो योजना सम्पन्न भएपछि गुजुल्टिएको तार हट्छ । अब शहर कुरुप हुँदैन, चिटिक्कको शहर बन्छ । पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ ।”

विद्युत्, टेलिफोनलगायत तार भूमिगत गर्ने काम काठमाडौँको महाराजगञ्जबाट शुरु भए पनि यसलाई देशका प्रमुख शहरमा विस्तार गरिने प्रधानमन्त्रीको भनाइ थियो । सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाएको जानकारी दिँदै उहाँले केही मान्छेलाई भने पीर परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले धेरै राम्रा काम गरिरहे पनि समाचार भने मैले बाँसुरी बजाएको मात्र आउने गरेको छ । सरकारले विकास र सुशासनको काम अघि बढाउँदा केही केहीलाई किन पीर परेको हो ?” उहाँले विकास सबैको साझा नारा र कर्तव्य भएको स्पष्ट पार्दै त्यसलाई मजाक नठान्नसमेत आग्रह गर्नुभयो । प्रधानमन्त्रीले देशभर नै तुइन विस्थापनको काम अगाडि बढेको भए पनि एकाध स्थानमा रहेको तुइन देखाएर सरकारको आलोचना गर्ने गरिएको बताउनुभयो ।

उहाँले दार्चुलामा मात्र दुईवटा तुइन बाँकी रहेको भन्दै त्यसैलाई देखाएर आलोचना गर्नुको कुनै अर्थ नहुने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भए पछि दैनिक छ किलोमिटरको दरले सडक कालोपत्र भएको र दुई वर्षको अवधिमा करीब तीन हजार किलोमिटर सडक कालोपत्र भएको तथ्याङ्क पेश गर्नुभयो ।

प्रधानमन्त्रीले आगामी दुई वर्षभित्र देशका सबै स्थानमा विद्युत् सेवा पु¥याउन सरकार लागिपरेको र सोही अवधिमा नेपालले विद्युत् निर्यातसमेत गर्ने जानकारी दिनुभयो । एक सय वर्षभन्दा बढीको अवधिमा नेपालको कूल विद्युत् उत्पादन ५०० मेगावाट मात्रै रहेकामा पछिल्ला वर्षमा ५०० मेगावाट थपिएको र केही समय भित्रै ठूलो मात्रामा विद्युत् उत्पादन हुने अवस्थाको सिर्जना गरिएको बताउनुभयो । उहाँले विद्युत् खपत पनि बढाउँदै लैजाने पनि उल्लेख गर्नुभयो ।

विद्युत् खपतको मात्रामा बढोत्तरी हुँदै गएको भन्दै प्रधानमन्त्रीले त्यसमा थप वृद्धि हुने विश्वाससमेत व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले विगतमा नेपालबाट बौद्धिक पलायन (ब्रेन ड्रेन) हुने गरेकामा त्यसलाई रोकेर विदेशमा काम गरिरहेकालाई स्वदेश फर्काउने ( ब्रेन गेन ) अभियान शुरु भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी