आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत दोस्रो खेलमा नेपालले ओमनलाई २ सय ५० रनको लक्ष्य दिएको छ ।
नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २ सय ४९ रन बनायो ।
नेपालका लागि आज कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । उनले एक छक्का र ६ चौकाको मद्धतमा ७६ बल खेलेर ५६ रन जोडे ।
त्यसै गरी पारस खड्काले ३८ रन जोडे भने विनोद भण्डारीले ३५,आरीफ सेख र कुसल मल्लले समान २८ रन जोड्दा ओपनर सुभाष खकुरेलले २२ रन बटुले ।
करण केसी १० रन बनाएर पेभिलियन फर्कदा दीपेन्द्र सिंह ऐरी शुन्य रनमा आउट भए । त्यसै गरी सन्दीप लामिछाने १० र कमल सिंह ऐरी ९ रनमा अविजीत रहे ।
टस हारेर नेपालले ब्याटिगंको निम्तो पाएको थियो । अब ओमनले केही बेरमा जवाफी ब्याटीगं थाल्ने छ ।
नेपाल ओमानविरुद्धको दोस्रो खेलमा नहारको बदला लिने दाउमा छ । यसअघि सिरिजको पहिलो खेलमा नेपाल ओमानसित १८ रनले पराजित भएको थियो ।
ओमानले हालसम्म आठ खेल खेलेको छ । उसले छ खेलमा जित तथा दुई खेलमा हारका साथ १२ अङ्क जोडेको छ । ओमान लिगको दोस्रो स्थानमा छ । पहिलो स्थानमा अमेरिका रहेको छ । नेपालले भने हालसम्म खेलेको दुई खेलमा एकमा हार तथा एकमा जित निकाल्दै दुई अङ्क जोडेको छ । नेपाल लिगको छैटौँ स्थानमा छ ।
आइसीसी विश्वकप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्याण्ड, नामिविया, युएई र पपुवान्यूगिनी रहेका छन् । उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो । लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरि प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपरलिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।