काठमाडाैं, २५ माघ ।
पाम आयल अर्थात् ताडीको तेल भारत निर्यात गर्न पाउने गरी प्रतिवन्ध फुकुवा भएकाे छ । नेपालबाट मात्रै प्रशोधित तेल आयात गर्न एक भारतीय आयतकर्ताले अनुमति पाएको उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोतीलाल दुगडले बताएका छन् ।
तेल निर्यातमा लागेकाे प्रतिवन्ध फुकुवा भएसँगै गाेदाममा थन्किएकाे तेल भारत निर्यात हुन थालेकेा छ । एक महिना अगाडी (पुस २३ गते )भारत सरकारले प्रशोधित पाम तेल र पामोलिन तेल आयातमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको थियो । त्यसयता विराटनगर भन्सार कार्यालयको गोदाममा मात्रै छ सय टन पाम तेल थन्किएको थियाे ।
पाम तेलमाथिको प्रतिबन्ध हटाइदिन नेपालले भारतलाई औपचारिक आग्रह गरेको थियो । प्रतिवनध हटेसँग नेपालले निर्यात प्रवर्द्धनका पक्षमा राहत पाएको छ । हाल नेपालको निर्यातमा ‘ट्रान्जिट वस्तु’कै रुपमा भएपनि पामको हिस्सा ठूलो छ ।
कास्मिर मुद्दामा मलेसियाका प्रधानमन्त्रीले भारतविरोधी अभिव्यक्ति दिएको भन्दै भारतको आपूर्ति मन्त्रालयले पाम तेलको आयात रोक्ने निर्णय गरेको थियो ।
भारत सरकारको वैदेशिक व्यापार विभागद्वारा जारी परिपत्रमा हार्मोनी कोड १५११९०१० को रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पाम तेल, १५११९०२० को रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पामोलिन र १५११९०९० को अन्य तेलको पैठारी रोक्ने उल्लेख थियो ।
भारतको उक्त निर्णयले तेस्रो मुलुकबाट कच्चा पाम तेल ल्याई प्रशोधन गरेर भारत निर्यात गर्दै आएका नेपाली व्यापारी मर्कामा परेका छन् । मोरङ उद्योग वाणिज्य संघका अनुसार नेपालमा विराटनगर र वीरगन्जमा एक दर्जनभन्दा बढी पाम तेल प्रशोधन गर्ने उद्योग सञ्चालन छन् ।
निकासी रोकिएकै दिन पुस २३ गते सीमापारि पुगिसकेको पाम तेल व्यवसायीले भन्सार गोदाममा फर्काएका थिए ।पशुपति, बाबा, स्वस्तिक र श्रीराम रिफाईनरी उद्योगले उत्पादन गरेको पाम तेल भन्सारको गोदाममा रहेको इन्टरमोडन यातायात विकास समिति विराटनगर भन्सारका प्रमुख गणेश घिमिरेले जानकारी दिए । प्रतिवन्ध फुकुवासँगै गाेदाममा थन्किएकाे तेल निर्यात सुरू भएकाे हाे ।
भन्सार विभागले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ९ अर्ब ९४ करोड रुपैयाँको कच्चा पाम तेल आयात गरेको छ भने भारततर्फ ११ अर्ब ५० करोड रुपैयाँको निर्यात गरेको छ । भारतमा भन्दा नेपालमा पाम तेल सस्तो पाउने भएपछि भारतीय व्यवसाययीले नेपाली बजारबाट तेल किन्न थालेका थिए ।