उद्योग वाणिज्य महासंघको समन्वयमा मोरङ सुनसरी औद्योगिक करिडोरका उद्योगमा १ हजार ४० जनालाई तालिमसहित रोजगारी दिइने भएको छ ।
मंगलबार विराटनगरमा एक कार्यक्रमकाबीच तालिम दिइ दक्ष बनाएर रोजगार उपलब्ध गराउन सम्झौतामा हस्ताक्षर भएको छ । उक्त हस्ताक्षर भएको सम्झौता पत्र ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)का प्रोजेक्ट मेनेजर श्री सरोज प्रसाद गुरागाँई र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १का का.वा. अध्यक्ष श्री लिलम बस्नेत बीच हस्तान्तरण गरिएको थियो ।
उद्योगलाई चाहिने दक्ष जशक्ति उत्पादन गरी रोजगारी दिने सम्झौतामा ग्रामिण उद्यम तथा विप्रेशण आयोजना (सम्वृद्धि)का आयोजना प्रबन्धक सरोजप्रसाद गुरागाईं र उद्योग वाणिज्य महासंघका तर्फबाट कार्यकारी निर्देशक राधारमण भण्डारीले हस्ताक्षर गर्नु भएको छ ।
कार्यस्थलमै तालिम दिई दक्ष जनशक्ति उत्पादन गरी उनीहरुलाई विभिन्न ६ उद्योगले रोजगारी दिने महासंघका कार्यकारी निर्देशक भण्डारीले बताउनुभयो । उद्योगको माग अनुसारको दक्ष जनशक्ति अभाव भएपछि सम्वृद्धि र हेल्भेटासको प्राविधिक सहयोगमा रोजगारीको सुनिश्चितासहित तालिम आयोजना गरिएको उहाँको भनाई छ ।
सहभागीहरुलाई कार्यस्थलमै ६ महिना तालिम दिइ दक्ष बनाएर तालिम दिने उद्योगमै रोजगारी दिइने सम्झौतामा उल्लेख छ ।
सम्झौता हस्ताक्षर कार्यक्रम तथा औद्योगिक प्रशिक्षण तालिम सञ्चालनार्थ अभिमुखिकरण कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपालीहरु माग अनुसारको दक्ष जनशक्ति नहुँदा नेपालीहरु रोजगारीको लागि विदेश जाने र विदेशीहरु रोजगारीको लागि नेपाल आउने स्थिति रहेको बताउनुभयो ।