पुनःनिर्माणको अनुभव अन्तर्राष्ट्रियकरण गर्न सम्मेलन

पुनःनिर्माणको अनुभव अन्तर्राष्ट्रियकरण गर्न सम्मेलन

  • मङ्लबार, माघ ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौँ, ७ माघ । गोरखा भूकम्पपछिको पुनःनिर्माणका उपलब्धि, हासिल भएका अनुभव, दस्तावेज, चुनौती एवं कमीकमजोरीलगायत विषय जानकारी गराउने उद्देश्यले आगामी वर्ष अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरिने भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी नोभेम्बर २७ देखि २९ सम्म काठमाडौँमा सम्मेलन गर्ने निर्णय गरेको छ । सम्मेलन तयारीका लागि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा आयोजक समिति गठन भएको छ । यसैगरी प्राधिकरण कार्यकारी समिति सदस्य चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय सचिवालय गठन भएको छ । सचिवालयको सक्रियतामा निजी आवास, सांस्कृतिक पुरातात्विक संरचना, सार्वजनिक भवन र सामाजिक क्षेत्र, जीविकोपार्जन तथा आर्थिक पुनरुत्थान, संस्थागत तथा वित्तीय व्यवस्थापन र विपद्मा राहत तथा उद्धार गरी छ क्षेत्रमा कार्यशाला गरिसकेको सचिवालयको सदस्य सचिवसमेत रहनुभएका प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो ।

छ विषयका कार्यशालाको अन्तिम कार्यशालाका अवसरमा आज आयोजित कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले हासिल गरेका उपलब्धि, कानुनी व्यवस्था भए पनि लागू हुन नसकेका विषय, नेपालको उपलब्धि अन्तर्राष्ट्रियस्तरमा जानकारी गराउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो । “ऐनमा पुनःनिर्माण कोषको व्यवस्था छ, त्यो कार्यान्वयनमा आएन, त्यो मात्र कार्यान्वयनमा आएको भए पनि अहिलेभन्दा धेरै उपलब्धि भइसक्ने थियो, धेरै पुरातात्विक सम्पदा बनिसक्ने थिए”, उहाँले भन्नुभयो ।

ऐनमा पुनःनिर्माणको बजेट ‘फ्रिज’ नहुने व्यवस्था भए पनि कार्यान्वयन नभएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सुनाउनुभयो । केही वर्षको बजेट फिर्ता ल्याए पनि पछि फिर्ता गर्न असहज भएको उहाँको भनाइ थियो । सम्मेलन संयोजक श्रेष्ठले पुनःनिर्माणका उपलब्धि भाबी पुस्तालाई हस्तान्तरण गर्न अभिलेखीकरण गरी पेश गरिने जानकारी दिनुभयो । प्राधिकरणमा दुई पटक गरी करिब डेढ वर्ष काम गर्नुभएका शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले गोरखा भूकम्प र यसपछिको पुनःनिर्माणको विषय राम्रोसँग दस्तावेजीकरण भए संसारका विभिन्न विश्वविद्यालयमा यसको पठनपाठन हुनसक्ने बताउनुभयो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले गोरखा भूकम्पपछि विदेशबाट आएका वैज्ञानिकले अनुसन्धान गरी एक हजारभन्दा बढी लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएकाले तिनलाई अभिलेखीकरण गर्नुपर्ने बताउनुभयो । भूकम्पअघि देशभर २१ भूकम्प मापन केन्द्र रहेकामा हाल ८२ ठाउँमा विस्तार भएको जानकारी उहाँले दिनुभयो ।

गृह मन्त्रालयका उपसचिव वंशीधर आचार्यले भूकम्प अघि र पछिको विपद् व्यवस्थापनको संरचनागतस्वरुपका बारेमा अध्ययन हुनुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका लागि भूकम्पको पाँचौँ स्मृति दिवसका अवसरमा वैशाखमा राष्ट्रिय सम्मेलन गरिने प्राधिकरणका सहप्रवक्ता घिमिरेले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ