मोरङ्ग, ७ माघ ।
नेपाल–भारत सीमा क्षेत्र विराटनगर–१८ मा निर्माण भएको विराटनगर एकिकृत जाँच चौकी (आईसीपी) आजबाट सञ्चालनमा आएको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधामन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा मंगलबार उद्घाटन गर्नु भएसँगै आईसीपी सञ्चालनमा आएको हो ।
नेपालतर्फ र भारतीय भूमिमा भारततर्फ आईसीपीको निर्माण सम्पन्न भएको छ । भारततर्फको आईसीपी यस अगाडी नै सञ्चालनमा आईसकेको छ । नेपालतर्फको आईसीपी उद्घाटन भएपछि दशदिनपछि देखि पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ ।
दुई देशका प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत आईसीपी उद्घाटन गरिरहँदा विराटनगरको बुधनगरस्थित आईसीपीमा नेपाल र भारतका उच्च अधिकारीको सहभागीतामा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ती राज्मन्त्री मोदी दुगडले आईसीपी सञ्चालनले दुवै देशको व्यापार सहजीकरणमा नयाँ उचाई प्राप्त भएको बताउनुभयो ।

यसैगरी पूर्व मन्त्री एवं नेपकाका नेता शिवकुमार मण्डलले आईसीपी निर्माणका क्रममा स्थानीयसँग नेपाल सरकारले जग्गा अधिग्रहण गर्दा गरेको सम्झौता भुल्न नहुने भन्दै व्यापार सहजीकरणसँगै रोजगारीका लागि आईसीपीले सहयोग गर्ने बताउनुभयो ।
उहाँले स्थानीयलाई रोजगारीको अवसरमा जोड्नका लागि आग्रह समेत गर्नुभयो ।
भारतीय दुतावासका प्रथम अर्थ सचिव प्रभजित सिंह गुलाठीले नेपाल र भारतबीचको सुमधुर सम्बन्धकै कारण दुईदेशबीच सहयोग आदान प्रदान हुँदै आएको भन्दै यसलाई सुनौलो अवसरका रुपमा लिनपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले व्यापारमा हुँदै आएको असहज परिस्थितिको अन्त्य भएको बताउनुभयो । उहाँले डिटेन्सन, ड्यामरेजमा लाग्दै आएको अनावश्यक खर्चको अन्त्य हुने आशा राख्नुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगड विराटनगरको बुधनगरमा नवनिर्मित एकीकृत भन्सार जाँचचौकीको नेपाल र भारतका प्रधानमन्त्रीद्वारा संयुक्तरुपमा रिमाट अन गरी उदघाटनपश्चात नेपालका लागि भारतीय दूतावासका प्रथम सचिव प्रजीतसिंह लुगाटीसँग खुसी साटसाट गर्दै ।
यसैगरी नेपाल इन्डरमोडल विकास बोर्डका निर्देशक नवराज ढकालले भारतले निर्माण सम्पन्नपछि हस्तान्तरण गरेको आईसीपी उद्घाटनसँगै सञ्चालनका लागि योग्य भएको बताउनुभयो । उहाँले तत्काललाई ट्रान्स नेपालले आईसीपी सञ्चालन गर्ने आवश्यक प्रक्रिया पूरा गरेर दशदिन भित्रमा पूर्ण सञ्चालनमा ल्याईसक्ने बताउनुभयो ।
अन्तराष्ट्रियस्तरको आईसीपी निर्माणका लागि नेपाल र भारत सरकारबीच सन् २००५ मा सम्झौता भएको थियो । सम्झौता अनुसार नेपालले बिरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्जमा जग्गा उपलब्ध गराउनुपर्ने र भारतले निर्माण गर्ने उल्लेख छ ।
विराटनगरमा आईसीपीको निर्माणका लागि २०१४ मईमा दिनेशचन्द्र आर एण्ड अग्रवाल इन्फ्राकनले ठेक्का लिइएको थियो । सन् २०१७ मार्चदेखि निर्माण सुरु गरेको कम्पनिले दुईवर्षमा सक्नुपर्ने योजना ३२ महिना लगाएको हो । भारत सरकारको खर्चमा लिंक रोडसहित १२९ बिघा क्षेत्रफलमा निर्माणाधीन आईसीपीको नेपालतर्फको भू–भागमा भन्सार प्रशासकीय भवन, अध्यागमन कार्यालय, डिस्पेन्सरी भवन, प्रवेश र निकासको प्रोसेसिङ यार्ड, इलेक्ट्रिकल सब–स्टेशन, प्रवेशद्वार, सुरक्षा गार्ड आवास भवन, सुरक्षा आवास भवन, पशु क्वारेन्टाईन र सीडका संरचना र सुरक्षा टावर निर्माण भएका छन् । भारत सरकारले २ अर्ब ८ करोडको लागतमा जाँच चौकी निर्माण गरेको हो ।