विराटनगर, ५ माघ । निजी विद्यालय तथा कलेजहरुको छाता संगठन(हिसान) मोरङको आयोजनामा माघ ७ गतेदेखि हिसान स्पोर्टस मिट २०७६ आयोजना हुने भएको छ ।
हिसान मोरङले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर मंगलबारबाट प्रतियोगिता सुरू हुन लागेकाे र त्यसकाे सम्पूणा तयारी पुरा भएकाे जनाएकाे हाे ।
हिसानका जिल्ला अध्यक्ष राजेश कार्कीले माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा २० विद्यालयका दुई हजार विद्यार्थी सहभागी हुने जानकारी दिए । उनले भने,‘‘बाह्र दिनसम्म चल्ने प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल, एथलेटिक्स र बास्केटबल समावेश गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न ६ वटा उपसमिति गठन भएका छन् ।’’ प्रतियोगितामा रु. ११ लाख खर्च हुने अनुमान गरिएको कार्कीले बताए ।
भलिबल र क्रिकेट खेलको लागि विराटनगरको डिग्री कलेजको खेलमैदान बास्केटबल मेरिल्याण्ड कलेजमा हुने आयोजकको भनाइ छ । यसैगरी सहिद रंगशालमा फुटबल प्रतियोगिता हुनेछ ।
हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले प्रदेश १ को राजधानी विराटनगरमा आयोजना हुने प्रतियोगिता भव्य हुने बताए । ‘‘विद्यालय तथा कलेजहरुले स्पर्धामा भाग लिने विद्यार्थीलाई तयार गरेका छन् ,’’ पोखरेलले भने,‘‘हिसानमा भाग लिएका धेरै खेलाडीले राष्ट्रिय रुपमा समेत आफ्नो परिचय स्थापित गर्न सफल बनेका छन् ।’’
आन्तरिक अभ्यास र खेल सामग्री व्यवस्थापनका लागि विद्यालय तथा कलेजहरुले कम्तिमा रु. दुई लाख ५० हजार खर्च गर्ने पोखरेलले बताए । बैजनाथपुर रंगशाला मर्मत गर्न भन्दै प्रदेश सरकारले पिच खनेका कारण यो पटक क्रिकेट म्याट राखेर डिग्री कलेजमा खेलाउनु पर्ने बाध्यता आइलागेको आयोजकको भनाइ छ ।