२८ पुस, काठमाडौं ।
वाणिज्य बैंकहरुले आजदेखि गोएमएल प्रविधि लागु गरेका छन् । सम्पत्ति शुद्धीकरण निवारणका लागि भन्दै नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंकहरुले आजदेखि गोएमएल सफ्टवेयर लागु गरेका हुन् ।
वाणिज्य बैंकहरु पछि अब विकास बैंक र फाइनान्स कम्पनीहरुमा समेत यो सिस्टम लागू गर्ने राष्ट्र बैंकको तयारी छ । आगामी असार महिनादेखि विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि लागु हुने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिनुभयो ।
यो सिस्टम लागुभएसँगै बैंकिङ प्रणली भने केहि झण्झटिलो भएको छ । अहिले कसैको नाममा रकम जम्मा गर्न भौचर भरेर जम्मा गर्नेको नाम लेखेमात्रै पुग्ने भएपनि अब भने भौचरमा जम्माकर्ताले ३ पुस्ते विवरण समेत उल्लेख गर्नु पर्नेछ ।
यतिमात्रै होइन नगद तथा चेक जम्मा गर्न जानेले आफ्नो सरकारी मान्यता प्राप्त सक्कली परिचयपत्र पनि साथै देखाउनु पर्नेछ । तिन पुस्ते भर्नु पर्नेदेखि लिएर सक्कल परिचय पत्र समेत देखाउनु पर्ने भएकाले विद्यमान व्यवस्था भन्दा यो विधि केहि झण्झटिलो हुनेछ ।
विश्वका धेरै देशका बैंक तथा वित्तीय संस्थाहरुले गोएमएल सफ्टवेयरको प्रयोग गरिरहेका छन् ।
वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले गोएमएमल सफ्टवेयर प्रयोग हुनु सबैका लागि राम्रै हुने बताउनुभयो ।
अहिलेको भन्दा यो सिस्टम लागू भए पछि सूचना धेरै दिनु र कागजात समेत उपलब्ध गराउनु पर्ने भएकाले केहि समय लाग्ने भए पनि सम्पत्ति शुद्धिकरण निवारणका लागि यो राम्रो हुने उहाँले बताउनुभयो ।
यो सिस्टम लागु भए अवैध रकम कसैले जम्मा गर्न नसक्ने र गरिहाले उसलाई सम्पत्ति शुद्धिकरणले सहजै पहिचान गरी कारबाही गर्न सक्नेछ ।