काठमाडौं, पुस २४ । त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुग्न सफल भएको छ ।
बिहीबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा पुछारको सरस्वती युथ क्लबमाथि १–० को जित निकाल्दै आर्मी शीर्ष स्थानमा पुगेको हो । आर्मीलाई जिताउन खेलको ३०औं मिनेटमा जर्जप्रिन्स कार्कीले निर्णायक गोल गरे ।
जितसँगै आर्मी पाँचौं चरणको समाप्तिपछि १२ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा पुगेको हो ।
साविक विजेता मनाङ–मर्स्याङ्दी क्लब ११ अंकसहित दोस्रो स्थानमा झरेको छ । मच्छिन्द्र क्लब थ्रीस्टार क्लबलाई गोलअन्तरमा पछाडि पार्दै १० अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
जावलाखेल युथ क्लब ९ अंकसहित पाँचौं तथा नेपाल पुलिस क्लब ८ अंकसहित छैटौं स्थानमा रहेको छ ।
आजै भएको पहलिो खेलमा संकटाले एपीएफलाई ४ दुई गोल अन्तरले पराजीत गरेको थियो ।
लिगअन्तर्गत् छैटौं चरणका खेलहरु आउँदो शनिबारदेखि हुनेछन् । छैटौं चरणका खेल पनि दशरथ रंगशालामै हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।