काठमाडौं, पुस २४ ।
राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज पाँचौ चरणका खेलहरु सकिंदै छन् । आज मध्यान्ह १२ बजे पछि हुने खेलमा संकटा क्लब र सशस्त्र प्रहरीको एपीएफ टिम भिड्नेछन् ।
गत संस्करणको उप–विजेता संकटा जारी लिगमा ११ औं स्थानमा छ भने एपीएफ १० औं स्थानमा छ ।दुवै टिमले समान ४–४ अंक जोडेका छन् । आजको विजेता टिम सातौं स्थानमा उक्लने छ । आजै दिउँसो ३ बजे त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबको सामना गर्ने छ ।
दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमामा हुनेछ । आजको खेल भएसँगै पाँचौ चरणका खेलहरु सकिने छ । आर्मी जारी लिगमा ९ अंकका साथ तालिकाको चौथो स्थानमा छ । आज विजयी भएको खण्डमा आर्मी क्लब १२ अंकसहित तालिकाको शिर्ष स्थानमा उक्लिने छ ।
११ अंक जोडेको मनाङ मस्र्याङ्दी क्लब अहिले शीर्ष स्थानमा रहँदा १० अंक जोडेको मच्छिन्द्र दोस्रो स्थानमा छ । सरस्वतीले भने अहिलेसम्म अंक जोड्न सकेको छैन् । यसअघि हिजोको खेलमा थ्रिस्टारले ब्रिगेड ब्वाइजलाई ३–१ ले हराउँदा च्यासलले नेपाल पुलिससंग २र२ गोलको बराबरी खेलेको छ ।