सिस्टम ह्याक गरेरकृषि विकास बैंकको झन्डै पाँच करोड रूपैयाँ लुट्ने गिरोहका एक सदस्य काठमाडौंमा पक्राउ परेका छन्। मोरङ रंगेली नगरपालिका-२ का ४३ वर्षीय दीपक नेपाललाई महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको हो।
महाशाखाका अनुसार उनलाई काठमाडौंबाटै समातिएको हो। उनी कृषि विकास बैंकको गोल्फुटार शाखामा पैसा झिक्न गएका थिए।
उनले ९ लाख रुपैयाँको चेक साट्न लागिरहेका बेला पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए।
लुटिएको ४ करोड ७६ लाख रूपैयाँमध्ये नेपालको खातामा एक करोड मौज्दात रहेको थापाले बताए।
आफ्नो खातामा गएको रकम झिक्न नेपालले पटक(पटक प्रयास गरिरहेका थिए। सोही क्रममा गोल्फुटार पुगेको सूचना बैंकबाटै आएपछि प्रहरीले नेपाललाई पक्राउ गरेको हो।
नेपाल सिस्टम ह्याक गर्ने समूहका एजेन्ट रहेको खुलेको छ। यसअघि उनीजस्तै १८ जना एजेन्टहरू पक्राउ परेका थिए।
गत असोज ५ गते सिरहा शाखाको उक्त पैसा सिस्टम ह्याक गरेर बैंकको केन्द्रीय कार्यालय पुर्याइएको थियो।
पछि उक्त रकम बैंकबाट विभिन्न व्यक्तिले निकालेका थिए। यसका मुख्य योजनाकार अफ्रिकन मूलका नागरिक पिटर रहेको प्रहरीले बताउँदै आएको छ।
मुम्बईमा बसेर उनले कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम विभिन्न व्यक्तिको खातामा पुर्याएर निकालेको प्रहरीको भनाइ छ।
कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम झिकेको प्रकणमा ३६ जना प्रतिवादी छन्।