काठमाडौं पुस ६ ।
अर्थमन्त्री डा युवराज खतिवडाले प्रविधिमा आधारित रहेर वित्तीय तथा आर्थिक अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै लेखापरीक्षकहरुले ध्यान र्पुयाउनुपर्ने बताउनु भएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आज आयोजना गरेको प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड सम्बन्धी अन्तक्रियात्मा अर्थमन्त्री खतिवडाले वित्तीय अपारधका दायरा बढिरहेको भन्दै त्यो नियन्त्रणको चुनौति रहेको बताउनु भएको हो ।
अर्थमन्त्री खतिवडाले कम्पनी दर्ता, वासलात तयारदेखि त्यसको लेखापरीक्षणसम्म गलत हिसाबले हुने गरेको भन्दै त्यसमा कसैले पनि सहयोग गर्न नहुने उल्लेख गर्नुभएको छ ।
प्रविधिको उपलब्धता र नयाँ प्रविधिको विकास र त्यसको उपयोगले वित्तीय तथा आर्थिक अपराधका नयाँ आयाम थपेको पनि उहाले बताउनु भएको छ । अर्थमन्त्री खतिवडाले हरेक पेशा र व्यवसायमा संलग्न हुने व्यक्तिले मूल्य मान्यताका हिसावले बाहिरका काम गर्न नहुने भन्दै चार्टर्ड एकाउन्टेन्ट, वकिललगायतका जोसुकै व्यक्तिले पनि व्यावसायिक आचारसंहिता र नैतिकताको सीमा बिर्सिन नहुने पनि बताउनु भयो ।
यसैगरी कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुरमा घिमिरेले लेखापद्धति र लेखापरीक्षण व्यवस्थित बनाउन चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । उहाले लेखापरीक्षणका क्रममा वित्तीय ठगी र भ्रष्टाचार भए नभएको हेर्नुपर्ने पनि उल्लेख गर्नुभयो ।