काठमाण्डौ ५ पुस ।
शहीद स्मारक ए डिभिजन लिगमा जाउलाखेल युथ क्लबले पहिलो जित निकालेको छ । आज भएको खेलमा जाउलाखेलले सरस्वती युथ क्लबलाई एक शून्यले हरायो ।
सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा जाउलाखेलले सरस्वतीलाई पाखा लगायो । पहिलो खेलमा थ्रीस्टारलाई बराबरीमा रोकेको जाउलाखेलको जितमा विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाको एकमात्र गोल निर्णायक बन्यो ।
उनले खेलको १० औंँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । जारी प्रतियोगितामा केही कमजोर मानिएको सरस्वतीले त्यसपछि खेलमा फर्कन निकै प्रयास गरे पनि उसको फ्रन्टलाइन सफल हुन सकेन । जारी प्रतियोगितामा सरस्वतीको यो लगातार दोस्रो हार हो ।
यस्तै आजै भएको अर्काे खेलमा संकटा क्लबले पहिलो जित निकालेको छ । न्युरोड टिम एनआरटीलाई १(० गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन दिपेश आले मगरले निर्णायक गोल गरे ।
खेलको नवौं मिनेटमा दिपेशले गोल गरेका थिए । जितसँगै संकटाले २ खेलमा ३ अंक जोडेको छ । संकटा पहिलो खेलमा च्यासलसँग २(० ले पराजित भएको थियो ।