पोखरा, ५ पुस ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन वारियर्सले पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालामा आज भएको खेलमा प्रदिप सिंह ऐरीको कप्तानीमा रहेको विराटनगर टाईटन्सलाई ३६ रनले पराजित गर्दै काठमाडौंले दोस्रो जित निकालेको हो । काठमाडौंले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय २३ रनमा समेटियो ।
विराटनगरका पुनित मेहेराले ५३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान प्रदिपले २९ रन जोड्दा नोमन खानले २५ रन बनाए । काठमाडौंका सुबोध भाटीले ३ तथा बसन्त रेग्मी र अमर सिंह रौटेलाले २र२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । काठमाडौंका लागि जयक्रिशन कोल्शावालाले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान ज्ञानेन्द्रले ४५ रन जोड्दा अमित श्रेष्ठले १७ रन बनाए ।
यस्तै सुवोध भाटीले १४ तथा आदील खानले अविजित १३ रन बनाए ।विराटनगरका लागि पुनित मेहेराले २ विकेट लिए । जितसँगै काठमाडौंले ४ खेलमा ४ अंक जोडेको छ । काठमाडौं दोस्रो स्थानमा उक्लिएको छ । विराटनगरको यो दोस्रो हार हो । विराटनगरले ३ खेलमा २ अंक जोडेको छ । विराटनगर चौंथो स्थानमा रहेको छ ।