पुस ४, कास्की ।
पोखरा प्रिमियर लिग (पीपीएल) मा आज दुई वटा खेल हुँदैछ । पोखरा मैदानमा बिहान ९ बजे बुटवल ब्लास्टर्स र पोखरा पल्टनले प्रतिस्पर्धा गर्नेछन् ।
बुटवल सोमपाल कामी र पोखरा शरद भेषावकरको कप्तानीमा हुने छ । पोखराको यो चौथो खेल हो भने बुटवलले तेस्रो खेल खेल्दै छ । तर दुवै टिमले तालिकामा दुई–दुई अंक मात्रै जोडेका छन् ।
पोखराले काठमाण्डौ गोल्डेन्स वारियर्सलाई पराजित गरेको थियो भने विराटनगर टाइटन्स र चितवन राइनोजसँग पराजित भएको थियो ।
आज बुटवलसँग खेलेपछि अन्तिम खेलमा पोखराले एक्सपर्ट धनगढीसँग खेल्न बाँकी हुने छ । तालिकाको चौथो स्थानमा रहेकाले पोखरालाई प्ले अफमा पुग्ने सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने दबाव रहेको छ ।
बुटवल ब्लास्टर्सले सुपर ओभरमा काठमाण्डौलाई पराजित गरे पनि चितवन राइनोजसँग भने फराकिलो अन्तरले पराजित भएको थियो ।
बुटवलले पोखरासँग खेलेपछि अझै धनगढी र विराटनगरसँग खेल्न बाँकी रहेको छ । तालिकाको पुछारमा रहेको बुटवललाई पनि प्ले अफको सम्भावना कायम राख्नका लागि आजको खेल जित्नै पर्ने अवस्था छ ।
यस्तै दिउँसो १ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र एक्सपर्ट धनगढी प्रतिस्पर्धा गर्दैछन् ।
चितवन लगातार २ खेल जित्दै शीर्ष स्थानमा छ भने धनगढीले एक खेलमा जित र एक खेलमा हारसहित २ अंक जोड्दै तालिकाको पाँचौँ स्थानमा छ ।
चितवन पारस खड्काको कप्तानीमा छ भने धनगढीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् ।