काठमाडौं, मंसिर २५ ।
सरकारले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का पदकधारी नेपाली खेलाडिका लागि विशेष प्याकेज दिने भएको छ ।
त्यसका लागि प्रधानमन्त्री केपी ओलीले खेलाडिहरुलाई वालुवाटार बोलाएका छन् । प्रधानमन्त्री ओलीले सागमा पदक विजेता नेपाली खेलाडी, तिनका प्रशिक्षक र पदाधिकारीहरुलाई भेटेर बधाई दिने भएका छन् ।
भेटघाटका लागि उनीहरुलाई प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारस्थित निवासमा बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटघाटको लागि दिउँसो सवा २ बजेको समय निर्धारण गरिएको छ ।
सो अवसरमा प्रधानमन्त्रीले खेलाडीहरुलाई सम्बोधन गर्ने र प्रोत्साहनस्वरुप पुरस्कारसमेत घोषणा गर्ने तयारी छ ।
साग प्रतियोगितामा ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै नेपाल दोस्रो भएको छ ।
प्रधानमन्त्री ओली अस्वस्थ भएका कारण सागको उदघाटन र समापन समारोहमा सहभागी हुन पाएका थिएनन् । उनले समापन समारोहको दिन मंगलबार भिडियो सन्देशमार्फत् खेलाडीहरुलाई बधाई दिएका थिए ।