काठमाडौँ, २४ मङ्सिर ।
१३औं साग खेलकुदको भब्य समारोहबीच समापनको तयारी गरिएको छ ।
यही मंसिर १५ गतेदेखि काठमाडौं, पोखरा र जनकपुरमा चलेको साग आज साँझ दशरथ रंगशालामा विशेष समापन कार्यक्रमको आयोजना गरी सम्पन्न भएको घोषणा गरिनेछ ।
मध्याह्न १२ बजे सांसदहरुसँग विशेष फुटबल खेल्ने र अपरान्ह ३ बजेदेखि पुरुष फुटबलको फाइनल खेल भएपछि विशेष समापन कार्यक्रम गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले जानकारी दिए ।
उनले मंगलबारै नै खेलाडीहरुका लागि विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् । समारोह समिति सचिव कुलबहादुर थापाले उद्घाटनमा नेपालको कला र संस्कृति समेटेकामा समापनमा भने नेपालको वीरताको गाथा प्रस्तुत गरिने बताए ।
उनले करिब डेढ घन्टा चल्ने समापन समारोहमा सुरक्षा निकायका विभागीय टोलीहरु तथा विद्यालयका गरी पाँच टोलीले विशेष प्रस्तुति दिने बताए । उद्घाटन भव्य भएजस्तै समापन अझ सशक्त हुने दाबी उनले गरे ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले सागको समापन समारोहलाई भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्नेछन् ।
अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै उहाँले भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सिलवालले जानकारी दिए।
सदस्य सचिव सिलवालका अनुसार प्रधानमन्त्री ओलीले खेलकूदलाई मात्र समेटेर भोली बुधबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्नेछन् ।
खेलाडीका लागि अहिलेसम्मकै ठूलो प्याकेज घोषणा हुने उहाँले बताए । पदकधारी खेलाडीलाई दिइने पुरस्कार तथा अन्य सुविधाबारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको सिलवालको भनाइ छ ।
आज सागको समापनको दिन दशरथ रंगशालाको उत्तरतर्फको प्यारापिटको १२ हजार सिटमध्ये आठ हजार टिकट बिक्री भइसकेको र दक्षिणतर्र्फको प्यारापिटमा दुई हजारमध्ये एक हजार सिटका लागि टिकट बिक्री गरेको सिलवालले बताए ।
समापन समारोहलाई प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, दक्षिण एशिया ओलम्पिक काउन्सिल तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र सदस्य सचिव सिलवालले सम्बोधन गर्ने कार्यक्रम छ । समारोहमा आगामी १४औँ साग संस्करणको आयोजक पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ ।