२३ मंसिर, काठमाडौं ।
तेह्रौँ दक्षिण एशियाली खेलकूद साग मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ ।
आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ । यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।
नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् ।

नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को नवौं दिन आज विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
तीनवटै आयोजक शहर काठमाडौं, पोखरा र जनकपुरमा आज खेलहरु हुनेछन् ।
आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, कबड्डी, स्क्वास, टेनिस र कुस्तीमा विभिन्न खेलाडीले प्रतिष्पर्धा गर्न लागेका हुन् ।
प्रतियोगिताअन्र्तगत महिला फुटबल र आर्चरी पोखरामा हुनेछ । त्यसैगरी कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।
पोखरा रंगशालामा हुने महिला फुटबलको फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।
महिला फुटबलमा माल्दिभ्सले कास्य जितिसकेको छ । पुरुषको फाइनलमा भने भोली नेपाल र भुटान खेल्नेछन् ।