काठमाडौँ ७ मंसिर ।
सत्तारुढ नेकपाका नेता बामदेव गौतमले पार्टीले अघि सारेको ‘जनताको जनवाद’ सिद्धान्त जनहित विपरीत भएकाले त्यस्को विरुद्ध निरन्तर आवाज उठाउने बताउनु भएको छ ।
आज राजधानीमा क्रिटिकल डिस्कोर्स नेपालद्धारा आयोजित एक कार्यक्रममा उक्त सिद्धान्त पूँजीवाद निर्माण गर्ने उद्देश्यले आएकोले त्यसलाई आधिकारिक मान्नु दुःखद भएको भन्दै त्यसका विरुद्धमा आफूले निरन्तर संघर्ष गर्ने बताउनु भएको हो ।
विश्व व्यवस्था र चीनः नेपालमा समाजजवादको सम्भाव्यता’ शीर्षकको बहसमा डा. खगेन्द्र प्रसाँईले प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणी गर्दै गौतमले जनताको जनवादले समाजवादलाई नोक्सान पुर्याउने बताउनु भयो ।
पार्टीमा आफूले उपाध्यक्षको हैसियत प्राप्त गर्ने पार्टी सचिवालय बैठकको निर्णय र राष्ट्रियसभा सदस्यको रुपमा जान पाउने ओलीको आश्वासनपछि ओलीसँग नजिकिएको चर्चा चलिरहेका बेला गौतमको यस्तो प्रतिक्रिया आएको हो । गौतमले संसारभर समाजवादको उन्मुलन हुँदै गएको बेला नेपालमा त्यसले सफलता पाउने जिकिर गर्नुभएको छ ।
नेपालमा आगामी पाँच वर्षसम्ममा आधारभूत समाजवाद निर्माण गर्न सकिने, अर्को पाँच वर्षमा चीन जहाँ पुगेको छ त्यहाँ पुग्न सक्ने र १५ देखि २० वर्ष भित्रमा समृद्धिको बाटोतर्फ नेपाल जाने उहाले दाबी गर्नुभयो । नेपालमा विकास भएको समाजवादको अवधारणा विश्वव्यापी बन्नेमा आफू विश्वस्त भएको उनको भनाई छ ।
निरन्तर पूँजीवाद तथा साम्राज्यवाद निरन्तर असफल भएको र हतियार तथा आफ्नो शक्ति संसारभर जवर्जस्ती लाद्ने र प्राकृतिक स्रोत साधन माथि कब्जा गर्ने प्रवृतिविरुद्ध संसारभरका मानिस एक जुट हुन थालेको उहको भनाई छ ।